बैशाख ६ गतेबाट देशभर कृषि गणनाको तथ्याङ्क संकलन गरिदै

अखबार हब
२०७८ चैत्र १४, सोमबार १४:४५

मकवानपुर । आगामीे बैशाख ६ गतेबाट कृषिगणना हुने भएको छ । देशभरको ७७ वटै जिल्लाको ७५३ वटा स्थानीय तहमा कृषि गणनाको तथ्याङ्क संकलन हुने भएको हो ।

आज हेटौंडामा जिल्ला स्तरीय कृषि गणना सचेतना गोष्ठि कार्यक्रमको अयोजना गर्दै बागमती प्रदेश कृषिगणना कार्यालयका अधिकृत राजेश दासले आउँदो बैशाख ६ गतेबाट जेठ १९ गतेसम्म देशभर वैज्ञानिक विधिले छनोट गरिएको वडामा कृषक परिवारसंग व्यक्तिगत अन्तर्वाताबाट कृषिसम्बन्धी विस्तृत विवरण संकलन गरिने बताए ।

उनले राष्ट्रिय कृषिगणना–२०७८ का लागी बागमती प्रदेशले प्रदेश कृषिगणना कार्यालयको स्थापना गरिसकेको बताउँदै भोलि चैत १५ गतेबाट २१ गतेसम्म प्रशिक्षकको तालिम हुने बताए ।

उनले देशभर कृषिगणना अधिकृत ७७ जना,सुपरिवेक्षक १५ सय जना र गणक ६ हजार रहेकोमा मकवानपुरमा कृषिगणना अधिकृत १ जना,सुपरिवेक्षक १८ जना र गणक ७० जना रहेको बताए । उनले गणकले कृषकहरुले प्रयोग गरेको जग्गाको अवस्था तथा पशुपन्छीपालन,अन्य खेती वातावरण लगाएत विविध विषयसम्बन्धी विस्तृत विवरणहरु संकलन गर्ने बताए । उनले कृषि गणनाको लागि मकवानपुरको १ सय २ वडा मध्ये ९१ वटा वडा नमुना परेको र गणना क्षेत्र १ सय ८५ रहने जानकारी दिए ।

जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
गोष्ठिमा जिल्लाको विभिन्न सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*