प्रथम नगरस्तरीय उपमेयर महिला फुटबलको उपाधि निजगढ सिटीलाई
बारा । प्रथम निजगढ नगरस्तरीय उपमेयर महिला फुटबल प्रतियोगिताको उपाधि निजगढ सिटीले हात पारेको छ ।
‘हाम्रो गोल, महिला हिंसाविरुद्धको बोल’ भन्ने मुल नाराका साथ सुरु भएको प्रथम प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा आयोजक चौतारा युवा क्लबलाई (०–१) गोल अन्तरले पराजित गर्दै निजगढ सिटी विजयी भएको हो ।
खेलको पहिलो हाफको १६ औं मिनेटमा निजगढ सिटीका लागि उर्मिला पाण्डेले गोल गरिन् । उक्त गोल नै खेलको निर्णायक बन्न पुग्यो । रोमाञ्चक र प्रतिस्पर्धात्मक रहको खेलमा चौतारा युवा क्लबको पटकपटकको आक्रमण निजगढ सिटीका गोलरक्षकले विफल बनाउन सफल भएकी थिइन् ।
फाइनल खेलको लेडी पावर अफ दी म्याच घोषित निजगढ सिटीकी उर्मिला पाण्डेले ट्रफी प्राप्त गरेकी थिइन् । ट्रफी निजगढ–७ का समाजसेवी खड्कबहादुर पुलामीले हस्तातरण गरेको थियो ।
खेलको बेस्ट गोलरक्षक निजगढ सिटीकी सुनिता बल, बेस्ट डिफेन्डर चौतारा युवा क्लबकी अनु माझी र बेस्ट मिड फिल्डर निजगढ सिटीकी सन्ध्या खड्का घोषित भइन् । त्यस्तै खेलको बेस्ट फरवाड निजगढ सिटीकी कोशिका मगर र प्लेयर अफ दी टुर्नामेन्ट निजगढ सिटीकी सबिना बल घोषित भइन् ।
प्रतियोगिता समापन कार्यक्रममा स्थानीय पूर्व खेलाडीहरु मोती बहादुर राना, कृष्णबहादुर लामा, फाल्गुण कुमार झ्याकुटे मगर, रोविन्द माझी र विश्वराज सिग्देललगायतलाई प्रमुख अतिथि उपमेयर लामिछानेद्वारा कदरपत्रसहित सम्मान गरेका थिए ।
प्रतियोगिताको विजेता निजगढ सिटीले नगद ३५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् भने उपविजेताले नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् । उपााधि निजगढ नगरपालिकाकी उपमेयर लिलादेवी लामिछाने (खनाल) र वडा नं. ७ का वडाअध्यक्ष रामजी बजगाईंले हस्तान्तरण गरेको खेल व्यवस्थापक बुद्धिबहादुर रानाले जानकारी दिए ।







