बागमती प्रदेश खेलकुद प्रतियोगिता : २१ स्वर्णसहित चितवन पहिलो,फुटबलमा मकवानपुरको शानदार जीत

अखबार हब
२०७८ चैत्र १३, आईतवार ००:२२

मकवानपुर । प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगितामा चितवन जिल्ला टिमच्याम्पियन बनेको छ । शनिबार सकिएको बागमती प्रदेश खेलकुद प्रतियोगितामा सहभागी ८ खेलमा सर्वाधिक पदक हात पार्दै चितवन च्याम्पियन बनेको हो ।

चितवनले २१ स्वर्ण, १९ रजत र १४ काँस्य हात पार्यो । बागमती प्रदेश खेलकुद विकास परिषदद्रा आयोजित प्रतियोगिताको दोस्रो स्थान काठमाडौं र तेस्रो स्थान ललितपुरले हात पारे । काठमाडौंले १९ स्वर्ण, ६ रजत, ७ कास्य र ललितपुरले ९ स्वर्ण, ९ रजत र ८ कास्य हात पार्यो ।

बागमती प्रदेशका १३ जिल्लालाई समावेश गर्दै आयोजना गरिएको प्रतियोगिता शनिबार काभ्रेको धुलिखेल रंगशालामा समापन गरिएको छ । प्रतियोगिताको फागुन २८ गते मकवानपुरको हेटौडास्थित पिप्ले क्यापडाडाँ रंगशालामा उद्घाटन गरिएको थियो ।

प्रतियोगितामा प्रदेश सरकारले प्राथमिकतामा राखेका ८ खेललाई समावेश गरेको थियो । जसमध्ये हेटौंडामा ब्याडमिन्टन, तेक्वान्दो, पुरुष फुटबल, चितवनमा भलिबल र क्रिकेट, काठमाडौंमा एथलेटिक्स, काभ्रेमा महिला फुटबल र बक्सिङ, सिन्धुपाल्चोकमा कराँतेका खेल आयोजना गरिएको थियो ।

प्रतियोगिताको अन्तिम दिन महिला फुटबलमा मकवानपुरले धादिङलाई एक शुन्यले हराउँदै पहिलो स्थान हासिल गर्यो । बक्सिङतर्फ पुरुष ४८ केजीमा काठमाडौंमा रविन थापा, ५१ केजीमा काभ्रेका लालप्रसाद उप्रेती, ५४ केजीमा ललितपुरका सुमन नेपाली, ५७ केजीमा काठमाडौंका सुजर महर्जन, ६० केजीमा ललितपुरका शेखर कुटवाजु, ९२ केजीमाथि काभ्रेका रविन्द्र घिमिरे, ९२ केजीमुनी चितवनका विभान गुरुङ, ८६ केजीमा काठमाडौंका सोनु गुरुङ, ८९ केजीमा ललितपुरका राजन तामाङ, ७५ केजीमा काभ्रेका विनिस राई, ७१ केजीमा काठमाडौंका प्रमोद राई, ६७ केजीमा मकवानपुरका अमन श्रेष्ठ र ६३ केजीमा रसुवाका मौसम राना मगरले स्वर्ण जिते ।

महिलामा ५० केजीमा भक्तपुरकी अस्मिता ढुवाल, ५७ केजीमा काभ्रेकी हेमा राई, ६० केजीमा दोलखाकी डेचेन शेर्पा, ४८ केजीमा काठमाडौंकी सुस्मा तामाङ, ५२ केजीमा भक्तपुरकी सुस्मा खड्का, ५४ केजीमा रामेछापकी सोस्तिका तिरुवा र ६६ केजीमा काठमाडौंकी कबुना श्रेष्ठले स्वर्ण जिते ।

उपाधि विजेता खेलाडीलाई संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, प्रदेश खेलकुदमा युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकाल, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी लगायतले पुरस्कृत गरेका थिए ।

समापन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले खेलकुदको ऐन कानुन, संरचना बनाउने काममा अघि देखिएको बागमती प्रदेश सरकारले प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेर इतिहास रचेको बताए ।

प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले छोटो समयको तयारीमा चुनौतीका बाबजुत प्रतियोगितालाई सफलतापूर्वक आयोजना गरिएको उल्लेख गरे । समापन समारोहका प्रमुख अतिथी संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले प्रदेश खेलकुद आयोजना गरेर बागमती प्रदेश सरकारले उल्लेख्य सफलता हासिल गरेको उल्लेख गर्दै यसले अन्य प्रदेशलाई समेत प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्न हौसला मिल्ने बताए । उनले प्रदेश खेलकुदमा राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई आसन्न एसियन गेमको बन्द प्रशिक्षणमा राखिने जानकारी दिए ।

प्रतियोगितामा २१ सय बढी खेलाडी सहभागी बनेका थिए । संघीय संरचना अनुसार प्रदेश खेलकुद विकास परिषद गठन भएपछि प्रदेश खेलकुद प्रतियोगिता आयोजना गरेर बागमती प्रदेश सरकारले इतिहास रचेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*