आत्मघाती गोल उपहार पाएको निजगढ सिटी फाइनलमा

रवीन ढुङ्गाना
२०७८ चैत्र ८, मंगलवार २३:४८

बारा । निजगढ सिटी निजगढ–५, प्रथम नगरस्तरीय उपमेयर महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार निजगढ–७ नेत्रोदय माविको प्राङगणमा जारी प्रतियोगितामा कोशिका मगरको एक गोल र एक आत्माघाती गोल उपहार पाएको निजगढ सिटीले एसवाइसी रामथली डम्बरपुर निजगढ–१२ लाई २–१ ले पराजित गर्दै फाइनल खेल यात्रा सुरक्षित बनाएको हो ।

खेलको पहिलो हाफको २५ औं मिनेटमा एसवाइसीका लागि निशा मोक्तानले गोल गरेको थिइन् । त्यस्तै खेलको दोस्रो हाफको १७ औं मिनेटमा निजगढ सिटीका लागि कोशिका मगरले गोल फर्काइ बराबरी बनाएकी थिइन् ।

तर, खेलको दोस्रो हाफको २० औं मिनेटमै जीना गोलेले आत्माघाती गोल गर्दा निजगढ सिटी विजयी भयो ।

भोली आयोजक चौतारा युवा क्लब र नमोबुद्ध युवा क्लबबीच सेमिफाइनलको अन्तिम खेल हुनेछ र विजयी टिम फाइनलमा निजगढ सिटीसँग भिड्नेछ ।

खेलमा निजगढ सिटीकी कोशिका मगर लेडी पावर अफ दी म्याच हुँदै उनले ट्रफी र एकजोर बुट प्राप्त गरिन् । पुरस्कार स्थानीय खड्क बहादुर पुलामीले प्रदान गरिएको खेल व्यवस्थापक बुद्धिबहादुर रानाले बताए ।

चौतरा युवा क्लवको आयोजनामा जारी प्रतियोगितामा ७ टीमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ३५ हजार रुपैयाँ र उपविजेताले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाइनल खेल आउँदो १२ गते शनिबार हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*