दुई नयाँ कमिटी गठन, अध्यक्षमा रुम्बा र घलान
मकवानपुर । नेपाली काँग्रेस मनहरी गाउँपालिका वडा नम्बर १ चकरीमा दुई छुट्टाछुट्टै नयाँ कमिटी गठन भएको छ । सोमबार बिहान १५/१५ सदस्यीय दुई नयाँ कमिटी गठन गरिएको हो ।
मनहरी–१ तल्लो चकरी टोल कमिटीमा हिब्रोन रुम्बा र भोर्ले टाँढीमा भीमराज घलानको अध्यक्षतामा सो कमिटी गठन भएको हो ।
तल्लो चकरी टोल कमिटीको उपाध्यक्षमा राजु तामाङ, सचिवमा हरिशरण जिम्बा, सह–सचिवमा कृष्णबहादुर लटौला, कोषाध्यक्षमा सानुमाया मोक्तानलगायत १५ सदस्य चयन भएका छन् । त्यस्तै भोर्लेटाँढी कमिटीको उपाध्यक्षमा हरिप्रसाद हटुवाल, सचिवमा आरती मैनाली, कोषाध्यक्षमा सिद्धिकुमारी चिमरियालगायत १५ सदस्य चयन भएका हुन् ।

नेपाली काँग्रेस मनहरी–१ को सभापति रामप्रसाद उप्रेतीको सभाध्याक्षतामा भएको कार्यक्रममा काँग्रेस बागमती प्रदेश सदस्य जानकी लामा तामाङको प्रमुख आतिथ्यता र भरत पराजुली विशिष्ट आतिथि रहेका थिए ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै पराजुलीले भने,–‘म कुनैपनि लाभदायीक पदमा नरहँदा पनि यस वडामा वृहत योजनाहरु पार्न सफल भएको थिएँ, भोलिको दिनमा हजुरहरुले दिनु भएको साथ कदापी भुल्ने छैन, कुनै दिन हजुरहरुले माया गरेर लाभदायीक पदमा पु¥याउनु भयो भने यस क्षेत्रको काँग्रेस मात्र नभई अन्य पार्टीका व्यक्तिको समस्या पनि विशेष रुपमा हल गर्दै जानेछु । ‘मलाई धन सम्पत्ति कमाउनु छैन, मैले पद नपाएँ पनि जनताको सेवामा सधैं लागि पर्नेछु’ उनले भने ।
अतिथिहरुमा नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र नं.२ सदस्य राममणि न्यौपाने, काँग्रेस प्र्रदेश प्रतिनिधि सागर जिम्बा, प्रतिनिधिसभा क्षेत्र नं. २(ख) सचिव नवराज पौडेल, मनहरी गाउँपालिका वडा नं. १ वडाअध्यक्ष शिवप्रसाद खनाल, युवा नेता रामकुमार उप्रेतीलगायतको उपस्थिति थियो ।







