‘हरेक व्यक्ति आत्मनिर्भर बन्न आयआर्जनमा लाग्नुपर्छ’–पौडेल
मकवानपुर । बागमती प्रदेशका पुर्वमुख्यमन्त्री डोरमणि पौडेलले हरेक ब्यक्ति आत्मनिर्भर हुनुपर्ने बताएका छन् । आत्मनिर्भर हुन हरेक मान्छे कुनै न कुनै तवरले आय आर्जनमा लाग्नुपर्ने बताए ।
जिल्ला युवा समिति मकवानपुरको समन्वय तथा हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाहरुमा गठित वडा स्तरीय युवा क्लबका पदाधिकारी तथा सदस्यहरुको नेतृत्व तथा क्षमता बिकास तालिमको उद्घाटन गर्दै पौडेलले तालिम लिएपश्चात यसलाई दैनिक जिबनमा लागू गर्न आग्रह गरे ।
सबै युवाले देशमा नै बसेर पसिना बगाउनुपर्ने बताएका छन् । व्यवहारिक सीप आर्जन गरेर रोजगारीको बाटोमा जानुपर्ने पौडेलको धारणा थियो । लिएको तालिमलाई अधिकतम व्यवहारिक जीवनमा लागू गर्ने वातावरण पनि युवाहरुले बनाउनु पर्ने उनले बताए ।
उनले नेपालमा बसेर काम गर्न लाज मान्ने परिपाटी रहेको तर विदेशमा गएर सोही काम गर्न नहिच्किने बानी रहेकोले यसलाई सुधार गर्न पनि युवाहरु अगाडी बढनुपर्ने बताए । कार्यक्रममा बोल्दै बागमती प्रदेशका पुर्वमन्त्री जुनेली श्रेष्ठले युवाहरुका कारण धेरै परिवर्तन सम्भव भएको बताइन् । यो तालिमबाट दक्ष जनशक्ति उत्पादन हुनेमा आफू विश्वस्त रहेको पनि उनले बताइन् ।
जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिबहरि दाहालको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडाका वडाध्यक्ष रामकुमार पुडासैनी, ४ नम्बर वडाध्यक्ष नवीन सिग्देल, ७ नम्बर वडाध्यक्ष राजन थापा, १० नम्बर वडाध्यक्ष कितापसिंह लामा, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रामचन्द्र खड्कालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
युवा क्लबका पदाधिकारी तथा सदस्यहरु लक्षित तालिम २ चरणको हुने र ३ दिनसम्म सञ्चालन गरिने जिल्ला युवा समितिका अध्यक्ष दाहालले जानकारी दिए । तालिममा प्रशिक्षक रिपेश दाहाल र राज शाहीले सहजीकरण गरिरहेको छ ।







