नवोदयका ११ जना विद्यार्थीले गरे पुस्तक परिचर्चा

अखबार हब
२०७८ चैत्र २, बुधबार १८:२२

मकवानपुर । नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयमा पुस्तक परिचर्चा (बुक टक) भएको छ । बुधवार कक्षा १ देखि ३ सम्मका विद्यार्थीले किताब अध्ययन गरी ‘लेभल–३’ मा पुग्न सफल भएका ११ जना विद्यार्थीले आफूले पढेको पुस्तकको बारेमा परिचर्चा गरेका हुन् । विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई पठन सीपको विकास गराउने उद्देश्यले हेटौंडा–४ मा रहेको विद्यालयले पुस्तक परिचर्चा गरेको हो ।

नवोदय विद्यालय कक्षा ३ मा अध्ययनरत छात्र अनुशिलन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा झरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्ष विश्वनाथ सञ्जेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका सञ्जेलले साहित्य क्षेत्रमा कलम चलाउँदै सिर्जनशील क्षेमताको विकास हुनेमा जोड दिएका थिए । उनले जीवित हुँदै राम्रो काम गर्नुपर्छ भन्ने विषय वस्तुलाई आधार मानी गाई र खशीको कथा विद्यार्थी सामु प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीले नाटक प्रस्तुत गर्नुका साथै नृत्य पनि प्रस्तुत गरेका थिए ।

‘पुस्तकले नै संसारलाई परिवर्तन गर्न सक्छ । त्यसैले आधारभूत तहबाट नै विद्यार्थीलाई पठन सीपको विकास गराउनुको साथै बोल्ने सीपको विकास गराउने उद्देश्यले बुक टक कार्यक्रम आयोजना गरेको हौँ ।’– कार्यक्रमका संयोजक जमुना थापाले भनिन्। बुक टकमा सहभागि भएका ११ जना विद्यार्थीलाई संयोजकद्वय जमुना थापा र सोहिता भट्टराईले प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा नवोदय विद्यालयका भाइस प्रिन्सिपल दुर्गा भट्टराई, शैक्षिक संयोजक अव्यक्त खनालको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*