विपद्का कारण ११ वर्षमा देशभर १४ हजारको मृत्यु, १२ सय बेपत्ता

अखबार हब
२०७८ चैत्र २, बुधबार १७:१५

काठमाडौं । देशभर विपद्का घटनामा परी पछिल्लो ११ वर्षमा १४ हजार १९४ जनाको मृत्यु भएको छ । २०६८ वैशाखदेखि २०७८ फागुन अन्तिमसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार सो अवधिमा देशभर २८ हजार ९२३ वटा विपद्का घटना रेकर्ड भएका छन् । ती घटनामा परी हालसम्म एक हजार २०४ जना बेपत्ता भएका छन् भने ३४ हजार ५४२ जना घाइते भएका छन् ।

विपद्का घटनाबाट एक लाख ३१ हजार ३४५ परिवार प्रभावित भएका छन् । विपद्का घटनाले तीन लाख ५९ हजार २७१ घरमा आंशिक क्षति र आठ लाख ११ हजार ७८५ घर पूर्ण क्षति भएका छन् । १२ वैशाख २०७२ को विनाशकारी भूकम्पले गरेको क्षतिसमेत जोड्दा पछिल्लो ११ वर्षमा नेपालमा विपद्का घटनाले नौ खर्ब २२ अर्ब ४१ करोड २० लाख १६ हजार ८२ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको केन्द्रको तथ्याङ्कले देखाउँछ ।

२०७२ को विनाशकारी भूकम्पले गरेको क्षतिबाहेक विपद्का घटनाले यो अवधिमा ४१ अर्ब ४१ करोड २० लाख १६ हजार ८२ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ । बाढी, पहिरो, आगलागी, चट्याङ, भूकम्प, भारी वर्षा, हिउँहुरी, हावाहुरी, जंगली जनावरको आक्रमणलगायतका विपद्का घटनाले उक्त मानवीय तथा आर्थिक क्षति गरेको हो । सडक दुर्घटनाबाट हुने मानवीय तथा आर्थिक क्षतिलाई यसमा समावेश गरिएको छैन ।

विपद् जोखिम न्यूनीकरणमा राज्यले प्रत्येक वर्ष करोडौं रुपैयाँ खर्च गर्दै आएको छ । तर विपद्का घटना र क्षति घट्नेभन्दा बढ्दो क्रममा रहेको देखिन्छ । ‘विपद्का घटना बढ्नुपछाडि दुई कारण छन् । पहिलो, हामी हौं । हाम्रो आनीबानी, व्यवहारले जोखिमलाई बेवास्ता गरेको छ । त्यसकारण विपद्का घटना र क्षति बढेको छ,’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने, ‘दोस्रो कारण भनेको जलवायु परिवर्तन हो ।’

यसमा तपाइको मत

Your email address will not be published.


*