आगामी निर्वाचनमा ओली राजावादीसँग मिलेनन् भने कान काटेर फालिदिन्छु : मन्त्री खतिवडा
गोरखा । आगामी निर्वाचनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा र राजावादी दलसँग गठबन्धन गर्ने एकीकृत समाजवादीका नेता तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले दाबी गरेका छन् ।
केपी ओलीले आगामी चुनावमा राप्रपा र राजावादीसँग मिलेर लड्ने उनको जिकिर थियो । मन्त्री खतिवडाले ठोकुवा गर्दै भने, ‘राजावादीसँग मिलेर चुनाव लडेनन् भने दुइ कान त भन्दिनँ सुन्नुपर्छ, एउटा कान चाहिँ काटेर फालिदिन्छु ।’
मंगलबार गोरखा अस्पतालको भवन उद्घाटनपछि पत्रकारसँगको कुराकानीमा खतिवडाले यस्तो बताएका हुन् । ओलीले पाँच दलीय गठबन्धनको विरोध गर्दै राप्रपा र नागर्जुनसँग खुसुखुसु गरेको उनको आरोप थियो । ‘केपी ओलीले राप्रपा र राजवादीसँग गठबन्धन गर्दैछन्, त्यो छोप्न यता कम्युनिस्ट भएर माधव नेपाल र प्रचण्डले शेरबहादुर र काग्रेससँग गठबन्धन गर्यो भन्दै छन्,’ उनले भने,‘चिल आयो चिल आयो भनेर स्यालले कुखुरा लगेजस्तो गर्ने, यता आफू लुसुक्क नागर्जुन र राप्रपासँग खुसुखुसु गर्ने । उता गठबन्धनको विरोध गर्ने ।’
त्यस्तै उनले आगामी निर्वाचनमा एमालेसँग सत्ता गठबन्धनका कुनै पनि दल मिलेर चुनाव नलड्ने घोषणा गरे । सत्ता गठबन्धनका दलबीच नै मिलेर चुनावमा जाने पहिलो प्राथमिकता हुने पनि उनले बताए । ‘सकेसम्म गठबन्धनको भावना प्रतिनिधित्व हुने गरी निर्वाचनमा जान्छौं ।’







