निर्माण व्यवसायी महासंघको अध्यक्षमा ५ दाबेदार

अखबार हब
२०७८ फाल्गुन २५, बुधबार १९:०२

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षका पाँच जना आकांक्षी देखिएका छन् । २७ फागुनमा नयाँ नेतृत्वका लागि हुने चुनावमा अध्यक्ष रवि सिंह, पूर्वअध्यक्ष रमेश शर्मा, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, पूर्व महासचिव रामशरण देउजा र व्यवसायी हुमनाथ कोइरालाले उम्मेदवारी दिने तयारी गरेका छन् ।

अहिलेसम्म अध्यक्षका कुनैपनि आकांक्षीले प्यानल घोषणा गरेका छैनन् । निर्माण व्यवसायी महासंघका सदस्यहरु धेरैजसो नेपाली कांग्रेस निकट रहेकाले पाँचै जना आकांक्षीले कांग्रेसको निर्णय कुरिरहेका छन् । उनीहरु कांग्रेसको समर्थन लिन दौडधुपमा पनि लागेका छन् ।

शुक्रबार काठमाडौंमा सुरु हुने २३औं साधारणसभा तथा १२औं अधिवेशनमा महासंघका सातवटै प्रदेश र ७७ वटै जिल्लाबाट आउने प्रतिनिधिले केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्नेछन् । त्यसबाहेक ३९ जना एसोसिएटतर्फका प्रतिनिधिले पनि मतदान गर्नेछन् । प्रत्येक प्रदेशबाट १५ जना प्रतिनिधि आउनेछन् । जिल्ला प्रतिनिधिको संख्या भने सम्बन्धित संघको सदस्य संख्यामा निर्भर हुनेछ । जिल्ला स्तरबाट आउने साना व्यवसायी नै निर्णायक हुने भएकाले दलहरूको समर्थन पाएकाले मात्रै महासंघमा चुनाव जित्ने अवस्था छ ।

अध्यक्ष पदको आकांक्षी पूर्वअध्यक्ष शर्मा ‘शर्मा एन्ड कम्पनी’ का सञ्चालक हुन् । कांग्रेस निकट शर्मा ‘निर्माण व्यवसायी संघ’ बाट महासंघमा रुपान्तरण भएपछिको पहिलो अध्यक्ष पनि हुन् । २० वर्षपछि अध्यक्षमा दोहोरिन इच्छा व्यक्त गरिरहेका उनी महासंघमा असक्षम नेतृत्व ल्याउने क्रम रोक्नुपर्ने बताउँछन् ।

वर्तमान अध्यक्ष सिंह यसअघि नेपाली कांग्रेसकै समर्थनमा अध्यक्ष निर्वाचित भएका थिए । कांग्रेसको १४औं महाधिवेशनमा संस्थापनइतरको टिमबाट केन्द्रीय सदस्यमा पराजित भएका थिए । यसपटक पनि महासंघको अध्यक्ष बन्न सिंहले कांग्रेसबाट समर्थन खोजिरहेका छन् । महादेव खिम्ती निर्माण सेवाका सञ्चालक सिंहविरुद्ध मध्यपहाडी लोकमार्ग, लालबकैया नदी नियन्त्रण आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दुई वटा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अध्यक्ष बन्ने दौडमा रहेका पाण्डे कालिका कन्स्ट्रक्सनको सञ्चालक हुन् । राप्रपा उपाध्यक्ष बिक्रम पाण्डेका छोरा उनले अघिल्लो कार्यकालमा नै अध्यक्षमा दावी गरेका थिए । तर अध्यक्ष सिंहले अर्को कार्यकालमा सहयोग गर्ने वचत दिएर वरिष्ठ उपाध्यक्षमा समर्थन गरेका थिए । तर, यसपटक सिंहले दोहोरिन खोजे पनि पाण्डेले दावेदारी छाडेका छैनन् । पाण्डेले ठूला व्यवसायी, नेकपा एमाले र राप्रपाको समर्थन लिन सक्नेछन् । तर, कांग्रेसको समर्थन नपाइ चुनाव जित्न कठिन हुने भएकाले भएकाले विभिन्न नेतामार्फत लबिङ गरिरहेका छन् ।

पूर्वमहासचिव देउजा आर कोमल कन्स्ट्रक्सनका सञ्चालक हुन् । कांग्रेस निकट उनी शरद गौचन अध्यक्ष हुँदा महासचिव थिए ।

बिकोइ बिल्डर्सका सञ्चालक र कांग्रेस निकट लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष कोइराला अध्यक्षमा आफूलाई समर्थन खोज्दै नेताहरुलाई भेटिरहेका छन् । गत वर्ष मल आयातको ठेक्का लिएर समयमै ल्याउन नसकेपछि उनको आपूर्ति कम्पनी ‘होनिको मल्टिपल’ कालोसूचीमा परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*