नगर खेलकुद विकास समितिले पायो पूर्णता, चैत २० गतेदेखि मेयरकप फूटबल
मकवानपुर । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिले पूर्णता पाएको छ । समितिको अध्यक्ष पहिलेनै चयन गरिएको भएपनि सदस्यहरु चयन गरिएको थिएन ।
अहिले भने सदस्यहरुलाई पनि चयन गरिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताए । नगर खेलकुद विकास समितिको सदस्यहरुमा सुरेश मिजार, विक्रम लामिछाने, अमामदिन अन्सारी, अस्मीता गोले र रुपा ढुंगानालाई चयन गरिएको छ ।
नगर अध्यक्ष र सदस्य सचिब गतवर्षनै नियुक्त गरिएको भएपनि सदस्यहरु भने नगरकार्यापालिकाको कार्तिक १० गते बसेको बैठकले नियुक्त गर्ने निर्णय गरेको थियो । खेलकुद विकास समितिको अध्यक्षमा यसअघिनै चन्द्र शाहीलाई चयन गरिएको थियो । समितिको सदस्य सचिवमा हिम प्रसाद पौडेल रहेका छन् ।
यसैगरी आउँदो चैत २० गते देखि ३० गते सम्म मेयरकप फूटबल प्रतियोगिता हुने भएको छ । नगरखेलकुद विकास समितिको पहिलो बैठकले प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरिएको हो । हरेक वर्ष सञ्चालन हुँदै आएको मेयरकप फूटबल प्रतियोगितामा हेटौंडाका १९ वटै वडाका खेलाडीका बिचमा प्रतिस्पर्धा हुने नगरखेलकुद विकास समितिका सदस्य सचिव हिम प्रसाद पौडेलले बताए।







