बन्दकर्ताले गरे रिद्धिसिद्धि सिमेण्टको बल्करमा आगजानी
मकवानपुर । बन्दकर्ताले हेटौंडा–१५, रातोमाटेमा रिद्धिसिद्धि सिमेण्टको बल्करमा आगजानी गरको छ । हेटौंडाको रातोमाटेबाट सिद्धिसिद्धि सिमेण्ट उद्योगतर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ ख ०१७५ नम्बरको बल्करमा आगजानी गरेको हो ।
आगजानीबाट सवारीको अगाडिको भाग पूर्णरुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
प्रहरीका अनुसार ८/१० जना समूहमा आएका बन्दकर्ताहरुले गाडीमा ढुङ्गामुढा गरी पेट्रोल छर्किएर आगो लगाई जंगलतर्फ फरार भएका छन् । उनीहरुको खोजीकार्य भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
यस अघि आजै बन्दकर्ताहरुले हेटौंडा–१९ बस्तीपुरमा एक ट्रकमा तोडफोट गरेको छ । सरकारले एमसीसी पारित गरेसँगै बिरोधमा विप्लब नेतृत्वको पार्टीसहित ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले संयुक्त रुपमा देशव्यापी बन्द आह्वान गरेका थिए ।







