संस्थापन पक्ष विभाजित हुँदा जयरामको पल्ला भारी
मकवानपुर । नेपाली काँग्रेस मकवानपुरको आजबाट सुरु हुने अधिवेशनमा तीन समुह चुनावी मैदानमा होमिने भएको छ । जसमा संस्थापन पक्षबाट सभापतिमा आनन्दराम पराजुली र बुद्ध लामा चुनावी मैदानमा होमिएका छन् भने, इतर पक्षबाट जयराम लामिछानेले यस अघि नै प्यानल घोषणा गरी चुनावी प्रचार–प्रसारमा होमिसकेका छन् ।
यसरी संस्थापन पक्ष नै दुई भागमा बाँडिँदा इतर पक्षका सभापतिका उम्मेदवार लामिछाने बलियो देखिएको हो । उता संस्थापन पक्षको पराजुली र लामाले आ–आफ्नै प्यानल सहितको उम्मेदवारी घोषणा गरेसँगै इतर पक्षका लामिछानेलाई थप सहज भएको देखिएको छ ।
सभापतिका उम्मेदवार जयराम लामिछानेले शुक्रबार प्यानलसहित आफ्नो उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिएका छन् ।
अहिलेसम्म बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले कुनैपनि प्यानललाई समर्थन गरेको सार्वजनिक भएको छैन । तर, काँग्रेस मकवानपुरका एक नेताका अनुसार बाँनियाले पराजुलीलाई रोक्नका लागि लामालाई सभापतिको उम्मेदवार बनाएको बताए ।
उनका अनुसार सहमति भए बाँनियाले हालका कार्यबाहक सभापति बिष्णुप्रसाद लामिछानेलाई नै सभापति बनाउन चाहेका छन् ।
स्रोतका अनुसार संस्थापन पक्षका महालक्ष्मी उपाध्याय (डीना)ले सभापतिका उम्मेदवार पराजुलीलाई समर्थन गर्ने चर्चा रहेको छ ।
यसरी जिल्लामा संस्थापन पक्षकै दुई नेताको फरक–फरक उम्मेदवारलाई समर्थन रहेको देखिँदा इतरका उम्मेदवार लामिछाने नै बालियो देखिएको काँग्रेस मकवानपुरका एक नेताले बताए ।
यता बानियाँले भने लामालाई सभापतिमा उठाएर पराजुलीलाई बहुमत ल्याउनबाट रोक्ने र पुनःमतादान गराउने योजनामा देखिन्छन् ।
उक्त योजना सफल भएमा हालका कार्यबाहक सभापतिसमेत रहेका बिष्णुप्रसाद लामिछानेलाई पनि समर्थन गर्न लगाउने योजना रहेको स्रोतले जनाएको छ ।
त्यो सम्भव नमएमा पराजुलीभन्दा लामिछानेलाई नै स्वीकार गरेर जाने अर्काे रोडम्याप पनि तयार रहेको छ । उनले आफू निकटको छलफलमा अन्तमा लामालाई जिताउन नसक्ने अवस्था आएमा आनन्दरामभन्दा जयराम नै ठिक भएको बताएका छन् ।
तर, काँग्रेसका अर्का नेताका अनुसार संस्थापन पक्षमै दुई जना उम्मेदवार हुनेबित्तिकै इतर पक्षका लामिछानेले नै जित्ने दाबी गरे । नयाँ नेतृत्व चयनका लागि आज उम्मेवारी दर्ता र भोलि १६ गते मतदान कार्यतालिका रहेको छ ।







