संस्थापन इतर पक्षबाट सभापतिमा लामिछानेको प्यानल घोषणा
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनमा संस्थापन इतर पक्षबाट सभापति पदका दाबेदार जयराम लामिछानेले आफ्नो प्यानल घोषणा गरेका छन् । प्यानल घोषणासँगै काँग्रेस मकवापनुरको जिल्ला अधिवेशनमा संस्थापन इतरबाट लामिछानेको एकमात्र टिम रहनेछ ।
शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत यहि फागुन १५ गते हुन गइरहेको मकवानपुर जिल्ला अधिवेशनको लागि आफ्नो प्यानल घोषणा गरेका हुन् ।
उनको प्यानलमा उपसभापतिमा आनन्द कठायत र धर्मराज लामिछाने, सचिवमा भीमसेन महत र इश्वर पाठक, सहसचिवमा इन्दिरा न्यौपाने र रत्न गोले, कोषाध्यक्षमा गोपिराम बल, तथा जिल्ला सदस्यहरुमा तारा राई कार्की (भूगोल), सुशीला न्यौपाने (महिला), शिव खनाल (खस आर्य) र पूर्ण पुडासैनी (खुल्ला) उम्मेदवार रहेको घोषणा गरेका छन् । त्यस्तै घोषणा गर्न बाँकी रहेका आरक्षण र क्लस्टर तर्फका सदस्यहरुको नाम कार्यकर्ताहरु बिच खुल्ला छलफल गरी टुंग्याइने सभापतिका दावेदार लामिछाने बताउँछन् ।
’हाम्रो टिममा सबैजना लोकप्रिय उम्मेदवारहरु रहेको हुँदा मतदाताहरुले हामीलाई नै भोट दिइ विजयी गराउने कुरामा म विश्वस्त छु ।’ लामिछानेले भने । उनका प्यानलले त्यसै कार्यक्रममार्फत सम्पूर्ण वडा सभापतिहरु र क्षेत्रीय प्रतिनिधि मतदाताहरुमा आफूहरुलाई मतदान गर्नको लागि अपिलसमेत गरेका थिए ।







