काँग्रेस मकवानपुरः संस्थापन पक्षतर्फ सभापतिमा पराजुलीको उम्मेदवारी घोषणा
मकवानपुर । नेपाली काँग्रेस मकवापुरको जिल्ला अधिवेशनमा सभापतिका दाबेदार आनन्दराम पराजुलीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
शुक्रबार कार्यकर्ता भेटघाट तथा पत्रकार सम्मेलन कार्यक्रम आयोजना गर्दै पराजुलीले आधिकारीक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । काँग्रेस संस्थापन पक्षका पराजुलीले आफ्नो प्रतिबद्धता, आगामी योजना र सभापतिमा अत्याधिक मत दिएर विजयी गराउन अनुरोध गर्दै उम्मेदवारी घोषणा गरेका थिए ।
उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै सभापतिमा बलिया दाबेदारको रुपमा अघि बढिरहेका पराजुलीले आफु सभापति निर्वाचित भएपछि पार्टीको विचार र जिल्लाको विकासलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । ‘काँग्रेसले जनतामाझ आफ्नो पार्टीको विचार स्थापित गर्न आवश्यक छ ।’, उनले भने, ‘विचारसँगसँगै विकासलाई पनि ध्यानमा राखेर जनतामाझ विकास निर्माणलाई समेत तीब्रता दिनेतर्फ मेरो ध्यये रहनेछ ।’
उनले बर्षौंदेखि आफुले मकवानपुरमा काँग्रेस बृद्धि हुनुमा पार्टीको विचार र जिल्लाको विकासलाई सँगैसँगै अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरे । उनले आफुलाई सहर बजारदेखि कुना कन्दराका कार्यकर्ताले खोजेको बेलामा भेट्ने र उनीहरुको समस्या समाधानका लागि हरदम लागि पर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । पराजुलीले हेटौंडा उपमहानगरको मेयर बन्ने र पार्टी सभापतिको उम्मेदवार हुने विषयलाई लिएर भ्रम सिर्जना गर्नु गलत भएको र मेयर जनप्रतिनिधि हुने विषय र पार्टी सभापति विल्कुल फरक भएकोले जनतामाझ जाने र पार्टी नेतृत्वको बारे एउटै डालोमा हाल्न नमिल्ने धारणा राखे ।
‘मेयर हुने विषयलाई पार्टी सभापतिमा ल्याएर जोड्न मिल्दैन ।’ उनले भने, ‘पार्टीले योग्य उम्मेदवारलाई मेयरको उम्मेदवार बनाउने छ, त्यहाँ म मात्र हुन्छु भन्ने होइन, अहिले पार्टीको चुनाव भएकोले यतामात्र केन्द्रीत हुन जरुरी छ ।’ उनले आफु सभापति भए, पार्टी विस्तारलाई व्यापक जोड दिँदै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा काँग्रेसका उम्मेदवारलाई विजयी गराएर काँग्रेसको किल्ला बनाउने दृढता व्यक्त गरे ।







