कांग्रेस जिल्ला अधिवेशनः मत तान्ने होडबाजी, प्रभात दाहाल भने अझै मौन

अखबार हब
२०७८ फाल्गुन १३, शुक्रबार १०:०८

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन नजिकिएसँगै सभापतिका उम्मेदवारबीच मत तान्ने होडबाजी चलिरहे पनि निर्णायक मत बोकेका प्रभात दाहाल मौन छन्

हाल सभापतिमा चारजनाले आकांक्ष व्यक्त गरिसकेका छन् । कांग्रेस मकवानपुरमा संस्थापन पक्षबाट तीनजना र संस्थापन इतरबाट एकजनाले सभापतिमा आकांक्ष व्यक्त गरेका छन् । तर, अघिल्लो अधिवेशनमा तेस्रो धारको नेतृत्व गर्दै सभापतिका उम्मेदवारी दिएका चर्चित युवा नेता प्रभातकुमार दाहाल भने हालसम्म मौन छन् । अधिवेशन हुन तीन दिनमात्र बाँकी रहँदा पनि उनको समर्थन कसलाई हुने आंकलन गर्न सक्ने अवस्था छैन । जिल्लाको विभिन्न पदमा दैनिकजसो नेताहरुले उम्मेदवारी घोषणा गरिरहँदा नेवि संघ पूर्वमहामन्त्री समेत रहेका दाहाल मौन हुनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

हाल उम्मेदवारी घोषणा गरेका सभापतिका आंकाक्षीहरु उनको समर्थन जुटाउन दैनिक प्रयास गरेपनि सफल हुन सकेका छैनन् । ‘अहिलेसम्म उहाँले कसैलाई समर्थन गर्नु भएको छैन । उम्मेदवारी पनि घोषणा गर्नु भएको छैन ।’, दाहाल निकट युवा नेता तथा महाधिवेशन प्रतिनिधि टेकनाथ शिवाकोटीले भने ।

अघिल्लो अधिवेशनमा दाहालले कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहको नेतृत्व गरेका थिए । १४ औं अधिवेशनमा खेमा परिवर्तन गर्दै प्रकाशमान सिंह समूहमा पुगेका दाहाल अहिले भने मौन छन् । कांग्रेसको वडादेखि क्षेत्रीय अधिवेशनमा छुट्टै प्यानल खडा गरेर संस्थापन पक्षलाई चुनौती दिएका दाहालसँग करिब २७ प्रतिशत मत रहेको अनुमान कार्यकर्ताहरुले गरिरहेका छन् । ‘उहाँले नेतृत्व गरेको समूहले वडादेखि क्षेत्रसम्म प्राप्त मत हेर्दा निर्णायक मत रहेको मान्न सकिन्छ ।’, उनी निकट एक कार्यकर्ताले भने ।

स्रोतका अनुसार उनका नेता प्रकाशमान सिंह हाल संस्थापन पक्षमा रहेका कारण दाहालले कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको आधिकारीक उम्मेदवारलाई सहयोग गर्ने सम्भावनालाई भने नकार्न सकिदैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*