विद्यार्थीको आन्दोलनपछि नियमित पढाउन बाध्य त्रिभुवन माविका शिक्षक
मकवानपुर । विद्यार्थीको आन्दोलनपछि त्रिभुवन माध्यमिक विद्यालयका शिक्षकहरुले नियमित पठनपाठन गराउने भएका छन् । हेटौंडा–११ नवलपुरस्थित त्रिभुवन मावि ठप्प भएको पठनपाठन विद्यार्थीको आन्दोलनसँगै पुनः नियमितरुपमा सुचारु हुने भएको हो ।
मंगलबार नियमित रुपमा पठनपाठन हुुनुपर्ने भन्दै विद्यार्थीहरुले राजमार्ग अवरुद्ध गरेपछि शिक्षकहरु पठनपाठन नियमित गर्न बाध्य भएका हुन् । विद्यालयको तल्लो तहमा नियुक्ति लिएका शिक्षकले माथिल्लो तहमा नपढाउने भन्दै विगत दश दिनदेखि पठनपाठन रोकी आन्दोलित भएका थिए । तल्लो तहका शिक्षकले माथिल्लो तहमा पठनपाठन नगराउने अडान लिएका कारण कक्षा ११ र १२को पठनपाठन प्रभावित हुँदै आएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीले जानकारी दिए ।
विद्यार्थीले आन्दोलन गरेपछि चालु शैक्षिक सत्रका लागि मात्र प्रावि तहका शिक्षक ले निमावि र मावि तहमा पढाउन सहमतिपश्चात् सबै तहका पठनपाठन नियमित हुने भएको उनले बताए ।







