एमाले मकवानपुरको चुनावी तयारीः बिहानै मतदान, चोकचोकमा माहौल सिर्जना

अखबार हब
२०७८ फाल्गुन १०, मंगलवार २२:१४

मकवानपुर । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै नेकपा एमाले मकवानपुर निर्वाचनको तयारीमा जुटेको छ । एमाले मकवानपुरले मंगलबार हेटौंडा–५ स्थित पार्टी कार्यालयमा दशवटा स्थानीय तह जनप्रतिनिधिको भेलाले विहानै मतदान गर्नेदेखि, चोकचोकमा एमालेको पक्षमा माहौल सिर्जना गर्न र अवस्थाको मूल्यांकन गर्न कार्यकर्ता खटाइने रणनीति अलवम्बन गर्ने भएको हो ।

‘हामी विहानै मतदान गर्न लाइनमा बस्नेछौं । त्यति बेलासम्म विपक्षी पछाडि पर्नेछन् । उनीहरुको मतदान गर्ने पालो ढिलो आउँदा निराश भइसक्नेछन् ।’, भेलालाई सम्बोधन गर्दै एमाले मकवानपुर इञ्चार्ज रामेश्वर रानाले भने,‘चोकचोकमा हाम्रो पक्षको माहौल बुझ्नका लागि ४० वर्ष कटेका कमरेड साथीहरुले फुट्टानी लाएर बस्नुहुनेछ । उहाँले विपक्षीसँग तर्क गर्न नसकेपनि एमालेलाई कसैले सक्दैन भने मात्र हुन्छ ।’

भेलामा सहभागी एमाले मकवानपुरका नेताहरुले चुनावमा सामाजिक सञ्जालको धेरैभन्दा धेरै प्रयोग गर्न कार्यकर्तालाई निर्देशन दिन जरुरी रहेको औंल्याएका थिए । ‘फेसबुक, युटुब, टिकटक र ट्वीटरको प्रयोग गरेर हाम्रो जनप्रतिनिधिले गरेको कामको विषयमा जनतालाई जानकारी गराउन जरुरी रहेको छ ।’, बैठकमा सहभागी एक नेताले भने,‘हामी कुनैपनि स्थानीय तहमा कमजोर छैनौं । सबै स्थानीय तह जित्नेछौं ।’ भेलामा एमालेको चुनावी रणनीति, कार्ययोजना र संगठन विस्तारको विषयमा छलफल भएको थियो ।

नेकपा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको भेलामा जिल्ला इञ्चार्ज रामेश्वर रानाले चुनावी रणनीतिको विषयमा आफ्नो धारणा राखेका थिए । भेलामा एमालेबाट जिल्लाको विभिन्न स्थानीय तहमा निर्वाचित स्थानीय तहका प्रमुख, उपप्रमुख, कार्यपालिका तथा न्यापालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*