बृषेशचन्द्र लाल समूहले छाड्यो लोसपा, तमलोपा पुनर्गठन गर्ने तयारी

अखबार हब
२०७८ फाल्गुन १०, मंगलवार १७:१९

जनकपुरधाम । कार्यकारिणी सदस्य वृषेशचन्द्र लालसहितका नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेको घोषणा गरेका छन् ।

मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी लालले लोसपा परित्याग गरेको र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) मा समावेश भएको बताएका छन् ।

लाल राष्ट्रिय सभाका पूर्व सदस्य पनि हुन् । लालसँगै संविधानसभा सदस्य एवं नेता डा. विजय कुमार सिंह, रामजी राय, धिरेन्द्रबहादुर सिंह, सतिश लाल दास, योगेन्द्र राय, उमेश मण्डल, ब्रजकिशोर सिंह, भोलानाथ झा, विन्दु देवी, राजकिशोर मण्डल लगायतले पनि लोसपा परित्याग गरेका छन् ।

नेतृत्व पंक्तिले जनता, जनताको विद्रोहपूर्ण संघर्षको ऐतिहासिक एजेन्डालाई थाम्ने, गन्तव्यको दिशामा बोकेर अगाडि बढाउने सामर्थ्य देखाउन नसकेकाले पार्टी परित्याग गरेर तमलोपामा समावेश भएको नेता लालले बताए ।

मधेशका जनताको चाहना अनुसार स्वच्छ क्षेत्रीय आकांक्षा र आवश्यकता बमोजिम स्वशासन र संघीयताको अभ्यासलाई अगाडि बढाउन, लोकतन्त्रवादी, मधेश एजेन्डाप्रति प्रतिबद्ध राजनीतिक दल आवश्यक भएकाले नयाँ राजनीतिमा लागेको उनको भनाइ छ ।

लालसहितका नेता प्रवेश गरेको पार्टी तमलोपा शुरुमा महन्थ ठाकुरले गठन गरेका थिए । ठाकुर नेतृत्वको तमलोपाले अरु दलसँग मिलेर राष्ट्रिय जनता पार्टी ९राजपा० बनाएपछि जनकपुरधामकै शिवशंकर लाल कर्णले तमलोपा दर्ता गराएका थिए ।

कर्ण लालका आफन्त हुन् । अब लाललाई अध्यक्ष बनाएर पार्टी पुनर्गठन गर्ने तयारी रहेको नेताहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*