काँग्रेस जिल्ला अधिवेशनः सभापतिका उम्मेदवार लामिछानेको बढ्दो सक्रियता
मकवानपुर । नेपाली काँग्रेस मकवानपुरको जिल्ला अधिवेशन नजिकिएसँगै सभापतिका प्रत्यासी जयराम लामिछानेले आफ्नो सक्रियता बढाएका छन् । यही फागुन १५ गते नेपाली काँग्रेस मकवानपुरको जिल्ला अधिवेशन हुँदैछ । अधिवेशन लक्षित उनले आज हेटौंडा उपमहानगरपालिका स्तरीय प्रतिनिधिहरूको भेटघाट कार्यक्रम आयोजना गरेका हुन् ।
पछिल्लो समय चुनाव प्रचारप्रसारको क्रममा आफू मकवानपुरको धेरै काँग्रेसीहरुबाट अपरिचित भएको महशस गर्दै लामिछानेले सो कार्यक्रममार्फत आफ्नो परिचय र राजनीतिक पृष्ठभुमिबारे प्रतिनिधिहरुलाई अवगत गराएका थिए ।
आफूले काम गरेको तर प्रचार नगरेको भएर धेरै आफूलाई नचिनेको हुन सक्ने उनको भनाइ छ । उनले भने ‘पार्टी एउटा बस हो, सदस्यहरु यात्री र चुनाव भनेको त्यो बसमा भएको यात्रुहरुलाई सकुशल गन्तव्यसम्म पुर्याउन चालक छ्नौट गर्ने विधि हो । जिते यात्रुहरुलाई सकुशल गन्तव्यमा पुराउँछु, हारे सह–चालक भइ चालकलाई सघाउने काम गर्छु ।’
आफू सभापति भए मकवानपुर काँँग्रेसको विकासको लागि राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरबाट दातृ सहयोग लेराउन पहल गर्ने अथवा पार्टीको केन्द्रसँग समन्वय गरि विविध कार्यक्रम ल्याउन र काँग्रेस मकवानपुरको नेतृत्व लिन सक्षम रहेको लामिछाने बताउँछन् ।
उक्त कार्यक्रममार्फत् वर्तमान जिल्ला सचिव आनन्द कठायत र प्रवक्ता प्रदीप कोइरालाले उपसभापति, जिल्ला सदस्य भीमसेन महत र तरुण दल मकवानपुरका अध्यक्ष इश्वर पाठकले सचिव, इन्दिरा न्यौपानेले सह–सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै जिल्ला सदस्यको लागि तारा कुमारी राइ कार्की, पूर्ण प्रसाद पुडासैनी, यादवराज उप्रेती, नन्दलाल दास, सुशिला न्यौपाने र मनमाया नेपालीको उम्मेदवारी रहेको छ ।
कार्यक्रममा काँग्रेस मकवानपुरका पूर्व सभापतिद्वय माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, काँग्रेस नेतृ उमा दाहाल र मकवानपुरका जनप्रतिनिधि, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
लामिछाने निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष र नेपालमा विकासवादी नेताको रुपमा परिचित छन् । उनी २०७० सालको संविधानसभा निर्वाचनमा काँग्रेसको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका थिए ।







