एमसीसी कार्यान्वयन भई देशले आर्थिक लाभ हासिल गर्नेमा परिसंघ विश्वस्त
काठमाडौं । नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको सम्झौता प्रतिनिधिसभामा आइतबार टेबल भएको छ ।
२०७४ भदौ २९ गते भएको नेपाल सरकार र एमसीसीबीचको सम्झौता अब संसद्बाट अनुमोदन भई कार्यान्वयनमा जाने र देशले आर्थिक लाभ हासिल गर्नेमा नेपाल उद्योग परिसंघको विश्वास छ ।
नेपालको आर्थिक विकासमा रणनीतिक महत्व दिने विद्युत र सडक क्षेत्रको विकासका लागि यो सम्झौता महत्वपूर्ण रहेको परिसंघको भनाइ छ । ‘लामो छलफल र तयारीपछि नेपालले प्रस्ताव गरेका आयोजनाको कार्यान्वयन दिगो आर्थिक विकासका आधार हुन सक्छन्’, परिसंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दिगो विकासका लक्ष्य हासिल गर्न र कोभिड पश्चातको आर्थिक पुनरुत्थानका लागि ठूलो लगानी चाहिन्छ । यसका लागि पनि एमसीसीजस्ता पूर्वाधार सहयोग परियोजना नेपालका लागि आवश्यक छ।’
नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र सहायताको इतिहासमा अमेरिकासँगको सम्बन्ध ऐतिहासिक रहेको परिसंघले अवगत गराएको छ । ‘नेपालले ७५ वर्ष लामो सम्बन्धमा अमेरिकाबाट प्राप्त भएका सहयोगबाट आर्थिकरसामाजिक विकासमा गुणात्मक फड्को मारेको छ’, परिसंघले भनेको छ, ‘नेपालले दातृ निकायहरुबाट प्राप्त गरिरहेको विश्वास अभिवृद्धिमा एमसीसी सम्झौता कार्यान्वयनले थप टेवा दिनेछ भन्ने हाम्रो विश्वास छ ।’
अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य हो । ‘सन् २०२६ बाट नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा नेपालमा उत्पादित वस्तुहरुको सहज निर्यातका लागि सौविध्यपूर्ण व्यवहारका लागि पनि नेपालले असल सम्बन्ध कायम गरिराख्नुपर्छ’, विज्ञप्तिमा उल्लेख छ ।







