चेपाङ विद्यार्थीलाई हेटौंडा भेट्रान्सको न्यानो कपडा सहयोग
मकवानपुर । हेटौंडा–१५ रातोमाटेस्थित जनजागृति माध्यामिक विद्यालयमा १ कक्षादेखि ५ कक्षासम्म अध्ययनरत चेपाङ तथा विपन्न परिवारका विद्यार्थीलाई हेटौंडा भेट्रान्स क्लबले न्यानो कपडा ट्रयाक–सुट सहयोग गरेको छ ।
क्लबका उपाध्यक्ष नवराज बज्राचार्यको अध्यक्षता तथा वडा नम्बर १५ का वडा अध्यक्ष महारत्न लामाको प्रमुख आतिथ्यमा आइतबार बिहान ५५ जना विद्यार्थीलाई ट्रयाक–सुट हस्तान्तरण गरिएको हो ।
भेट्रान्स क्लबले ३३ हजार रुपैयाँ बराबरको ट्रयाक–सुट सहयोग गरेको क्लबका सदस्य कविन सांगामीले बताए । हेटौंडा–१ स्थित ग्लोबल सर्जिकल सप्लायर्सका सञ्चालक राजन सञ्जेलले विद्यालयलाई १० हजार रुपैयाँ बराबरको सेनिटाइजर र मास्क सहयोग समेत गरेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी पूर्वअध्यक्ष मीना लामा, प्रधानाध्यापक दीपकलाल खतिवडा, क्लबका कोषाध्यक्ष रमेश उप्रेतीको पनि उपस्थिति रहेको थियो ।







