वागमती प्रदेश सरकारले स्थापना दिवस नमनाउने
मकवानपुर । वागमती प्रदेश सरकारले यस वर्ष स्थापना दिवस नमनाउने भएको छ । प्रत्येक वर्ष माघ २९ गते मनाउने गरिएको स्थापना दिवस स्थगित गरिएको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्थापना दिवसमा दिइने पुरकार तथा विभूषण कुनै उपयुक्त दिन पारेर वितरण गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवम् कानुनमन्त्री कृष्ण शर्मा खनालले जानकारी दिए । उनका अनुसार यात्रुवाहक सवारीलाई नगद कारोबाररहित (क्यासलेस) बनाउन आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णयसमेत प्रदेश सरकारले गरेको छ ।
भरतपुर महानगरपालिकाले निर्माण गर्न लागेको प्रशासनिक भवनका लागि पनि प्रदेशले स्रोत सुनिश्चित गरेको छ । ‘भवनको लागत ९४ करोड तोकिएको छ । अब ठेक्का लाग्छ । ठेक्का रकमको ५० प्रतिशत प्रदेश सरकारले व्यहोर्नेछ,’ शर्माले भने ।







