राजतन्त्रसँग कमल थापाको ‘डिभोर्स’

अखबार हब
२०७८ माघ २६, बुधबार ०८:२४

देशमा ०६२/६३ को जनआन्दोलनसँगै पतन भएको राजतन्त्र फेरि स्थापित गर्ने एजेण्डाका साथ राजनीतिमा होमिएका कमल थापा अन्ततः सोही एजेण्डा छाड्ने बिन्दुमा पुगेका छन् । गत मङ्सिर १९ गते सम्पन्न पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका थापाले आफूलाई हराउन पूर्वराजा ज्ञानेन्द्र शाह (निर्मल निवास) र उनका सहयोगीहरूले भूमिका खेलेको जिकिर गर्दै आएका थिए भने सो सम्बन्धमा पार्टीभित्र छलफल हुनुपर्ने थापाको एक सूत्रीय माग थियो ।

तर, पार्टीमा सो मुद्दामा छलफल हुने अवस्था नदेखिएपछि थापा पार्टी नै छाड्ने निर्णयमा त पुगे नै उनी राजतन्त्र पुनर्स्थापनाको एजेण्डा छाड्ने बिन्दुसम्म पनि पुगेका छन् । थापा अब हिन्दुराष्ट्रको एजेण्डामात्रै बोकेर राजनीतिक अभियानमा हिँड्ने तयारीमा रहेको उनी निकटस्थहरूले बताएका छन् ।

राजतन्त्र पुनर्स्थापनाको एजेण्डा बोकेकै कारण थापाले भरपुर राजनीतिक लाभ हासिल गरे । संविधानसभाको दोस्रो निर्वाचनमा ६०१ सभासदमध्ये २४ सिट जितेका थापाले सोही सांसदको बलमा सत्ताको राम्रो स्वाद चाखे भने शक्तिकेन्द्रमा आफ्नो प्रभुत्व कायम राख्न सफल भए । पार्टीमा सर्वेसर्वा भएका उनको भूमिकालाई लिएर आलोचना गर्ने पद्मसुन्दर लावतीदेखि केशरबहादर विष्ट र दिलविकासराज भण्डारीलगायत कारबाही गरे भने उनले आफ्नो विरोधीलाई छानिछानी ठेगान लगाए । पछि तत्कालीन राप्रपासँग एकता गरेपछि पनि आफैँ कार्यकारी भूमिकामा रहेका थापा पार्टीको पछिल्लो महाधिवेशनमा भने अप्रत्याशित रूपमा अध्यक्षमा पराजित बन्न पुगेका थिए । पार्टीभित्रको टुटफुटका बीच करिब १६ वर्ष निरन्तर पार्टीको कार्यकारी पदमा रहेका थापाले अप्रत्याशित रूपमा पराजित बन्न पुगेपछि आफ्नो हारको दोष निर्मल निवासलाई थोपरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*