आजदेखि हट्यो सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली

फागुन १ गतेदेखि शैक्षिक संस्था खुल्ने
अखबार हब
२०७८ माघ २४, सोमबार ०७:५०

काठमाडौं । काठमाडौं उपत्यकामा सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली आधा महिनापछि हटेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेसँगै आज मध्यरातिबाट निर्णय लागू भएको हो ।

७ माघ मध्यरातिदेखि जोरबिजोर लागू भएको थियो । त्यसपछि १४ माघमा संशोधन गर्दै सार्वजनिक सवारीसाधनमा जोरबिजोर हटाइएको थियो । तर, निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कोरोना महामारीमा जारी स्वास्थ्य मापदण्डको पालना गर्नेगरी जोरबिजोर हटाइएको बताए । उनका अनुसार गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्क अनिवार्य गरिएको छ ।

आगामी फागुन १ गते शैक्षिक संस्था खोल्न पाइने भएको छ । आगामी फागुन १ गतेदेखि विश्वविद्यालय, कलेज, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जानकारी दिएका छन् ।

यद्यपि, विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीका हकमा नियमति र १२ वर्ष पुरा नभएका विद्यार्थीका हकमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन जारी सूचनामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*