हिउँले सेताम्य चन्द्रागिरी
काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा हिमपात भएको छ । चन्द्रागिरीमा हिउँमा खेलेर रमाइलो गर्नेहरूको भीडभाड छ ।
हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायत क्षेत्र सेताम्य भएका छन् ।
चन्द्रागिरी डाँडामा हिउँ परेको यो वर्ष दोस्रो पटक हो । यसअघि गत पुस दोस्रो साता हिमपात भएको थियो । त्यतिबेला सयौं युवायुवतीहरू हिउँ खेल्न चन्द्रागिरी गएका थिए । अहिले पनि हिउँ खेल्नेहरूको चन्द्रागिरीमा चहलपहल छ ।
पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात भइरहेको छ । अन्य धेरै स्थानमा वर्षा भएको छ । हिमपातका कारण केही स्थानमा राजमार्ग अवरुद्ध भएका छन् ।
यो अवस्था आइतबारदेखि मात्रै सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।







