हेटौंडा राप्तीतटमा शवदाह मेसिन जडान, माघ अन्तिमसम्म सञ्चालनमा आउने
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा –१०, राप्तीतटमा शवदाह मेसिन जडान गरेको छ ।माघ महिनाको अन्त्यसम्ममा शवदाह गर्न सुरु गर्ने गरी शवदाह मेसिन जडान कार्य भइरहेको हेटौंडा उपमहानगरपालिकाका सम्पत्ति व्यवस्थापन तथा खरिद शाखाका प्रमुख बसन्तकुमार सिटौलाले जानकारी दिए ।
उपमहानगरले ५५ लाख ६५ हजार रुपैयाँ लागतमा शवदाह मेसिन खरिद गरेको थियो । भारतबाट ल्याइएको शवदाह मेसिनको प्रयोगपछि शवदाहको क्रममा दाउराको खपत कम हुने र छोटो समयमै शवदाहको कार्य सकिने बताइएको छ ।
शवको तौल अनुसार दाउरा एक सय केजीदेखि एकसय २० केजीसम्ममा एउटा शव दाह गर्न सकिने प्राविधिकको भनाइ छ । परम्परागतरुपमा शवदाह गर्दा शवको तौलअनुसार १ हजार ५ सय केजीदेखि २ हजार केजीसम्म दाउरा खपत हुने गरेको छ ।
मेसिनमा शवदाह गर्दा कुनै किसिमको शूल्क नलाग्ने पनि उपमहानगरले स्पष्ट पारेको छ । एक सय १० फिट अग्लो चिम्नीसहितको मेसिनमा शवदाह गरिने भएकोले आसपासका क्षेत्रमा दुर्गन्ध हुने समस्याको समेत समाधान हुनेछ ।







