कांग्रेस मकवानपुर सभापतिमा लामिछानेको उम्मेदवारी
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापति पदमा जयराम लामिछानेले उम्मेदवारी घोषणा गरेका छन् ।
वुधबार हेटौंडा–२ स्थित कांग्रेस चोक नजिकै सम्पर्क कार्यालय स्थापना गर्दै लामिछानेले सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले मकवानपुरमा कांग्रेसप्रति जनविश्वास बढिरहेको पार्टीलाई मकवानपुरमा पहिलो नम्बरको बनाउन आफूले सभापतिमा उम्मेदावरी दिने तयारी गरेको बताए ।
‘कांग्रेसप्रति युवाहरुको आकर्षण दैनिकरुपमा बढिरहेको पार्टीलाई सशक्त र बलियो बनाउन मेरो उम्मेदवारी रहनेछ ।’, लामिछानेले केहीदिनमा आफ्नो प्यानल नै सार्वजनिक गरेर निर्वाचनमा होमिने बताए ।
लामिछानेको उम्मेदवारीलाई मकवानपुरमा संस्थापन इतर समूहको रुपमा चित्रण गरिएको छ । उम्मेदवारी घोषणासभामा नेपाली कांग्रेस मकवानपुरका पूर्वसभापति रामचन्द्र अर्याल, रघुरमण न्यौपाने तथा जिल्ला सचिव आनन्द कठायतलगायतको उपस्थिति रहेको थियो । कांग्रेस १४ औं अधिवेशनअन्तर्गत् मकवानपुरको निर्वाचनको मिति २ पटक घोषणा गरेर स्थगित भइसकेको छ । अधिवेशनको नयाँ मिति भने अझै घोषणा भएको छैन ।







