गैंडा मरेको विरोधमा विवेकशील साझाको प्रदर्शन
चितवन । सडक विस्तारका क्रममा नाली बनाउन खनिएको खाल्डोमा परेर एकसिंगे गैंडा मरेको विरोधमा मंगलबार विवेकशील साझा पार्टी चितवनले भरतपुर महानगरपालिकाको प्रवेशद्वारअघि हात्तीको गोबरसहित प्रदर्शन गरेको छ ।
प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीसँग धकेलाधकेल गर्दै विवेकशील साझाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए । ‘वन्यजन्तुको संरक्षणका लागि महानगर संवेदनशील होस् भनेर ध्यानाकर्षण गराउन प्रदर्शनमा उत्रिएका हौं,’ पार्टीका चितवन संयोजक प्रविन काफ्लेले भने ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ पुल्चोकदेखि गोन्द्राङसम्मको ६ किलोमिटर ८० मिटर सडकलाई ६ लेनको बनाइँदै छ । सोही खण्डमा नाली बनाउन खनेको खाल्डोमा परेर आइतबार गैंडा मरेको थियो । ढलान सकिए पनि खाल्डो नपुरेका कारण त्यसैमा परेर लगभग ११ वर्षको भाले गैंडा मरेको थियो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने बरन्डाभार जंगलको मुखैमा उक्त घटना भएको हो । बरन्डाभार जंगल चुरे र महाभारत पर्वत शृङ्खलालाई निकुञ्जसँग जोड्ने महत्त्वपूर्ण जैविक मार्ग हो । यो जंगललाई चिरेर पूर्वपश्चिम राजमार्ग गएको छ ।
बरन्डाभार जंगलमा दुर्लभ वन्यजन्तु गैंडा, बाघको ओहोरदोहोर चलिरहन्छ । राजमार्गको दायाँबायाँ चित्तलका बथान र गैंडा चरेको देखिन्छ । ‘यस्तो महत्त्वपूर्ण करिडोरमा काम गर्दा सावधानी नअपनाएको विवरणहरू आइरहेको छ । सम्बन्धित पक्षलाई कारबाही होस् र वन्यजन्तुमैत्री विकास निर्माण होस् भनेर महानगरको ध्यानाकर्षण गर्न खोजेका हौं,’ प्रदर्शनमा सहभागी पार्टीका केन्द्रीय प्रवक्ता शरदराज पाठकले भने ।
गत वर्षको कात्तिकदेखि सुरु भएको सडक विस्तार संघीय सरकारको आयोजना हो । भरतपुर महानगरले यसलाई महानगरकै पहलमा आएको गौरवको आयोजना भन्ने गरेको छ । ‘आयोजनामा महानगरको प्रत्यक्ष संलग्नता छैन होला तर चासो र सरोकार जोडिएको छ । यो प्रदर्शनले यस्ता आयोजनामा वन्यजन्तुको पनि ख्याल राख्ने विषयमा महानगरको ध्यानाकर्षण हुने आशा छ,’ काफ्लेले भने । पार्टीले क्रमैसँग डिभिजन सडक कार्यालय र अन्य सरकारी निकायको पनि यसैगरी ध्यानाकर्षण गराउने उनले बताए ।







