मकवानपुरमा एमाले विवाद मिल्यो, पदाधिकारीले लिए सपथ

अखबार हब
२०७८ माघ ११, मंगलवार १५:५८

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको विवाद समाधान भएको छ । विवाद समाधान भएसँगै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मंगलबार एमाले मकवानपुरको पार्टी कार्यालय हेटौंडामा भएको सपथग्रहण कार्यक्रममा एमालेका निवर्तनमान अध्यक्ष तथा अध्यक्ष पदका प्रत्याशी बद्रीप्रसाद लम्सालको पनि सहभागिता थियो ।

गत पुस २३–२४ मा भएको नेकपा एमाले मकवानपुरको ११ औँ जिल्ला अधिवेशनले अध्यक्ष एकालाल श्रेष्ठको नेतृत्वमा १ सय ५ सदस्यीय जिल्ला कमिटि निर्विरोध चयन गरेको थियो । सर्वसम्मतको नाउँमा कमिटि घोषणाँ गरिएको भन्दै बिरोध जनाएका तत्कालिन जिल्ला आयोजक कमिटि अध्यक्ष बद्रीप्रसाद लम्सालले आफ्नो उम्मेद्वारी फिर्ता लिएसँगै आज सपथग्रहण भएको हो ।

सपथग्रहणमा बोल्दै नेता लम्सालले आफु सहमतिको वाधक कहिलेपनि नभएको र एमालेको नयाँ कमिटिले एमाले मकवानपुरलाई थप उचाई प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताए । २०३७ साल पछि आफु पहिलो पटक भूमिका विहिन भएको भन्दैन उनले पार्टीले यसको मूल्याङ्कन गर्नेमा विश्वास ब्यक्त गरे ।

कार्यक्रममा एमाले जिल्ला अधिवेशनका निर्वाचन प्रमुख अर्जुन अर्यालले जिल्ला अध्यक्ष श्रेष्ठलाई सपथग्रहण गराएका थिए । अध्यक्षको सपथग्रहण पछि श्रेष्ठले जिल्ला उपाध्यक्ष लालबहादुर थापा, सचिव नविन सिग्देल, उप–सचिवहरु हिदम लामा तथा सिता विष्ट र सदस्यहरु जुना दाहाल, सुनिल मोक्तान, मदन दाहाल, रमिला सापकोटा, फुर्वादोर्जे लामा, सुमित्रा काफ्लेलाई सपथग्रहण गराएका थिए ।
सपथग्रहण समारोहमा एमालेका केन्द्रीय सदस्यहरु रामेश्वर राना, कृष्णप्रसाद दाहाल सहितका नेताहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*