मकवानपुरगढीमा मनाइयो २ सय ५९ औं विजय उत्सव

अखबार हब
२०७८ माघ १०, सोमबार २०:०६

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा २ सय ५९ औं विजय उत्सव मनाइएको छ ।  यस वर्षभने कोभिडका कारण स्वास्थ्य मापदण्ड अपनाएर २५९ औं विजय उत्सव सामान्य तरिकाले मनाइएको हो ।

आज माघ १० गते अर्थात २ सय ५९ वर्ष अघि आजैको दिन गोरखा सैनिकले पहिलो पटक विदेशी सेना अर्थात मुगल सेनालाई पराजित गरेको थियो ।

२५९ वर्षअघि भएको सो युद्धमा गोरखा सेना र विदेशीबीच युद्ध भएको थियो । पहिलो विजयोत्सव मनाउन पृथ्वीनारायण शाह स्वयम् गढीमा उपस्थित थिए ।

मुगल सेनाका फौज पराजित भएपछि उत्साहित बनेका पृथ्वीनारायण उत्सवमा सहभागी हुन मकवानपुरगढी पुगेका थिए । गुरगिनन खाँको नेतृत्वमा आएको करिब २५ सय मुगल सेनाका फौजलाई गोर्खाली सेनाले परास्त गरेका थिए ।

उक्त लडाइमा मुगलका करिब सत्र सय फौज र गोर्खाली फौज तर्फ करिब ३० जनाको मृत्यु भएको थियो । उक्त युद्धमा गोर्खाली सेनाले ५०० भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोप २ थान हात पारेको थियो ।

सोही दिनको स्मरणमा हरेक वर्षको माघ १० गते मनाउँदै आईएको विजय उत्सव यस वर्ष भने कोभिड १९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सामान्य ढङ्गले मनाइएको छ ।

ऐतिहासिक मकवानपुरगढी विजय उत्सव मूल समारो समिति मकवानपुरगढीको आयोजनामा भएको विजयी उत्सव कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का सांसद कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद दाहालले मकवानपुरगढी दरबारको संरक्षण गर्न आवश्यक बजेटको लागि पहल गरिने बताए । कार्यक्रममा बोल्दै दाहालले मकवानपुरगढीको ऐतिहासिक महत्व रहेको भन्दै संरक्षणको अवश्यक्ता रहेको बताए । उनले मकवानपुरगढीबाट सुरु भएको विजय अभियानले नेपाल एकीकरणका लागि महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

कार्यक्रममा गढी दरबार परिसरमा नेपाली सेनाले निर्माण गरेको मकवानपुरगढी र नेपाली सेना सम्बन्ध अङ्कित शिलालेख बोर्ड तथा दरबार परिसरमा झन्डोत्तोलन गरिएको थियो । गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईंको अध्यक्षतामा भएको विजय उत्सव कार्यक्रममा नेपाली सेनाका २८ नंबर गणका प्रमुख सेनानी भाइकाजी थापा,पुरानो गोरख गणका गुणराज अधिकारी, गाउँपालिकाको उपाध्यक्ष हर्कमाया रुम्बा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनि, वडा अध्यक्षहरु, सदस्यहरु,कार्यपालिका सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published.


*