वीरगञ्ज नाकाबाट ६ महिनामा झण्डै २३ करोडको कुकुर–बिरालोको खाना निर्यात
पर्सा । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनाको अवधिमा वीरगञ्ज नाकाबाट कुकुर/बिरालोको खानाको निर्यातमा बृद्धि भएको छ।
चालु आर्थिक वर्षको साउनदेखि पुस महिनासम्ममा वीरगञ्ज भन्सार नाका भएर २२ करोड ९२ लाख ४ हजार रुपैयाँ बराबरको कुकुर/बिरालोको खाना निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।
६ महिनाको अवधिमा नेपालबाट कुल १ लाख ५४ हजार १४१ किलो कुकुर/बिरालाको खाना निर्यात भएको भन्सार कार्यालयले जनाएको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा भने ७ करोड ९० लाख रुपैयाँ बराबरको जम्मा ६० हजार किलो कुकुर/बिरालोको खाना वीरगञ्ज नाका भएर निर्यात भएको थियो।
यस्तै वीरगञ्ज नाका भएर चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमासको प्रशोधित तेल, सूर्यमूखी, प्रशोधित पाम तेल, फलफूलको जुस, जमोठ कपडासहित २० वटा बस्तुहरु मुख्य रुपमा निर्यात भएका छन्। कुकुर/बिरालोको खाना निर्यात हुने बस्तुहरुको सूचीमा १५ औँ स्थानमा रहेको छ।







