मकवानपुरगढीको विजयोत्सव : विदेशी फौजलाई पराजित गरेको दिन
मकवानपुर । विदेशी फौजमाथि विजयप्राप्त गरेको खुशीयालीमा हरेक वर्ष माघ १० गते मकवानपुरको मकवानपुर गढीमा विजय उत्सव मनाउँने गरिएको छ । कोडिभको कारण २५९ औं विजय उत्सव आज सामान्य तरिकाले मनाउन लागिएको हो ।
मकवानपुरगढी गाउँपालिका–२ मा पर्ने गढी क्षेत्र हेटौँडाबाट १७ किमी पूर्वमा अवस्थित छ । साढे दुई सय वर्षअघि यही स्थानबाट अंग्रेजको फौजलाई गोर्खाली फौजले पराजित गरेको इतिहास रहेको छ । उक्त गढी सेन वंशीय राजाहरूको विरासत हो ।
सेनवंशीय मकवानपुरका अन्तिम राजा दिग्वन्धन सेन मकवानपुरगढी अन्तर्गत रहेको हरिहरपुर गढीको लडाइ हारेपछि बंगालका नवाब मीर कासिम अलीसँग सहयोग माग्न गएका थिए ।
नबाव अलीको सहयोगमा २ हजार लडाकु र एक हजार बन्दोबस्तीसहित ३ हजार फौज लिएर गोर्खा नियन्त्रणमा रहेको मकवानपुरगढीमा बिक्रम सम्व्त १८१९ माघ १० गते आक्रमण गरिएको थियो ।
मकवानपुरगढीमा रहेको नन्दु शाहको नेतृत्वको फौज र पृथ्वीनारायण शाहले दहचोकवाट पठाएको वंशीराज पाण्डेको फौजसँग माघ १० गते मीर कासिमका सेना पराजित भएका थिए ।
विदेशी फौजमाथि विजय प्राप्त गरेको स्मरणमा विजय उत्सव मनाउँने गरिएको हो । नेपाली फौजले मीर कासिम फौज पराजित भएपछि उनीहरुवाट खोसिएका आधुनिक हतियार र सैन्य उत्साहलाई संगठित गरेर पृथ्वीनारायण शाहले राष्ट्रको रक्षाका लागि सैनिक संगठन संरचना निर्माणको अभ्यास सुरु गरेका हुन ।
पृथ्वीनारायण शाहले त्यतिवेला श्रीनाथ गण, सवुज गण, पुरानो गोरख गण, बर्दबहादुर गण र कालिवक्स गण गठन गरेका थिए । नेपाली सेनाको इतिहासमा मकवानपुर गढीको वीरताको ऐतिहासिक पृष्ठभूमि रहेको छ । पाल्पाका राजा मुकुन्द सेनले आफना चार छोरालाई राज्य बाँडेका थिए ।
मकवानपुर सेनको कान्छा छोरा लुहाङको भागमा परेको थियो । आफनो राज्यलाई सुरक्षित गराउन लुहाङले विक्रम सम्व्त १६२२ मा मकवानपुरगढी निर्माण गरेको इतिहासमा उल्लेख छ ।
नेपालमा भएका गढीहरुमध्ये सबैभन्दा ठूलो मकवानपुरगढी हो । गढीको सुरक्षाका लागि वरिपरि २५ फिट अग्लो र ७ फिट चौडाइ भएको पर्खाल लगाइएको छ । वीरताको इतिहास बोकेको ऐतिहासिक मकवानपुरगढीको संरक्षणका लागि गाउँपालिका, नेपाली सेना र स्थानीयवासी संयुक्त रुपमा जुटेका छन् ।







