आयोगको निर्देशनमा लिङदेनको आपत्ति, विधान नसच्याउने अडान

अखबार हब
२०७८ माघ ९, आईतवार १०:५५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउन निर्वाचन आयोगले दिएको निर्देशनप्रति आपत्ति जनाएका छन् । पार्टीको मुल सिद्धान्तबाट पछि हटेर विधान संशोधन गर्न नसकिने उनले स्पष्ट पारे ।

आयोगले गत २ माघमा राप्रपालाई पत्राचार गर्दै एक हप्ताभित्र विधान संसोधन गरेर पठाउन भनेको छ । यस विषयमा आज पार्टीमा छलफल गरेर आयोगलाई जवाफ दिइने अध्यक्ष लिङ्देनले बताए ।

आयोगले संविधानको मर्म र भावना विपरित पूर्वाग्रही ढंगले आयोगलाई पत्र पठाएको भन्दै उनले दुख व्यक्त गरे । नेपालको संविधानले गणतन्त्र र धर्मपनिरपेक्षतालाई अपरिवर्तनीय नमानेको लिङदेनले आयोगलाई स्मरण गराए ।

उनले भने, ‘राष्ट्रिय सार्वभौमिकता विपरितका र हिंसात्मक राजनीतिबाट सत्ता प्राप्त गर्ने एजेन्डाबाहेक सबै विषयवस्तु संविधानले खुल्ला राखेको छ । दुईतिहाई बहुमतले संसदबाटै राजसंस्था र हिन्दू राष्ट्र फर्काउन सकिन्छ । हामी यही एजेन्डालाई लिएर राजनीति गरिरहेका छौं, चुनाव लडिरहेका छौं । हाम्रो विधान कसरी संविधानविपरित भयो ?’

विधान संसोधन गर्न दबाब दिएर आयोगले राप्रपामाथि पूर्वाग्रही र ज्यादतीपूर्ण व्यवहार गरेको लिङदेनले बताए ।

राप्रपाले विधान सच्याउने प्रश्नै नआउने बताउँदै उनले भने, ‘विगतमा पनि यस्तै प्रकारले पत्र पठाउँदै आएको थियो । तर, हामीले सच्याएका थिएनौं । अहिले पनि सच्याउने कुनै आउँदैन ।’

यसमा तपाइको मत

Your email address will not be published.


*