खरायो गतिमा कोरोना संक्रमण, कछुवा गतिमा होल्डिङ सेन्टर निर्माण
बुटवल । पछिल्लो समय भारतबाट नेपाल भित्रिने नेपालीहरुमा कोरोना संक्रमण पुष्टि हुने दर खरायो गतिमा बढिरहेको छ । तर संक्रमितलाई राख्न लुम्बिनी प्रदेशका सीमा नाकामा बन्दै गरेको होल्डिङ सेन्टर निर्माणको काम भने कछुवा गतिमा अघि बढीरहेको छ । एउटा होल्डेङ सेन्टर निर्माणको काम त शुरु नै हुन सकेको छैन ।
सरकारले एक वर्षअघि नै लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर र सुठौलीमा एकरएक हजार क्षमता तथा बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकामा एक हजार ५ सय क्षमताको होल्डिङ सेन्टर बनाउने घोषणा गरेको थियो ।
एक वर्षको अवधिमा कपिलवस्तुका दुई होल्डिङ सेन्टर मध्ये एउटाको ९० प्रतिशत र अर्कोको ८० प्रतिशत निर्माणको काम पूरा भएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माको दावी छ । शर्माका अनुसार नेपालगञ्जको होल्डिङ सेन्टरको काम पनि ८० प्रतिशत पूरा भएको छ ।
बेलहियामा होल्डिङ सेन्टर निर्माणको काम शुरु नै हुन सकेको छैन । जग्गा नपाएकाले होल्डिङ सेन्टर बनाउन नसकिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव खनालको भनाइ छ ।
होल्डिङ सेन्टर नबन्दासम्म निजी होटललाई क्वारेन्टिनका रुपमा प्रयोग गरिने शर्माको भनाइ छ । होल्डिङ सेन्टर निर्माणको काम छिटो पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको प्रदेश सरकारले जनाएको छ ।
लक्षणसहितका संक्रमितको संख्या बढेको खण्डमा होटलहरुलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख खनालको भनाइ छ ।
सीमा नाकामा एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिए उनीहरुलाई शुरुमा होल्डिङ सेन्टरमा राख्ने र सम्बन्धित पालिकासँग समन्वयपछि मात्र पालिकाको आइसोलेसन सेन्टरमा लगेर राख्नुपर्ने प्रावधान छ ।
भारतबाट भित्रिनेहरुमा संक्रमण दर बढेपछि सीमा नाकामा एन्टिजेन परीक्षणलाई तीव्रता दिइएको शर्माले बताए । तर सरकारको आफ्नै होल्डिङ सेन्टर नहुँदा संक्रमितहरुको उचित व्यवस्थापनमा चुनौती थपिएको छ ।
बेलहिया नाकामा एन्टिजेन परीक्षणमा संक्रमण पुष्टि भएपनि लक्षण नदेखिएकालाई सिधै घर जान दिइएको र लक्षण देखिएकालाई अस्पतालमा रिफर गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख खनालले बताए ।
बेलहियामा पुस १ गतेदेखि १६ गतेसम्म करिब ५ हजार जनाको परीक्षण गर्दा ३ सय १७ जनामा जनामा कोरोना संक्रमण देखिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नवीन पौडेलले बताए । पुस २० यता दैनिक १५० देखि २५० जनाको एन्टिजेन परीक्षण हुने गरेको उनले बताए ।
प्रहरीले बेलहियासहित अन्य नाका हुँदै नेपाल आउने भारतीय पर्यटकमा पनि एन्टिजेन परीक्षण थालेको छ । बसमा यात्रारत मध्ये एक जनामा पनि संक्रमण पुष्टी भए उक्त बसलाई नाकाबाटै फिर्ता पठाउने गरिएको प्रहरी निरीक्षक पौडेलले बताए । ‘सोमबार मात्रै दुई वटा बसलाई फिर्ता पठायौं’–उनले भने–‘र्याण्डमली चेक गर्दा कुनै एकजनामा देखियो भने तयो सवारी साधन नेपाल प्रवेश गर्न दिन्नौं, फर्काइदिन्छौं ।’
कोरोना कोषलाई १० करोड
कोरोनाको संक्रमणको तेस्रो लहर आउनसक्ने आंकलन गरेर सरकारले यसको नियन्त्रण र उपचारमा खर्च गर्न प्रदेश कोरोना कोषलाई १० करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले बताए ।
कोरोना कोषमा रकम अपुग हुन सक्ने भएकाले व्यवसायिक संघसंस्था,उद्योगी व्यवसायीसँग सहयोगका लागि आह्वान गर्ने सरकारको तयारी छ । लुम्बिनी प्रदेश सरकारले कोरोनाबाट मृत्यु हुने परिवारलाई एक लाखका दरले राहत दिने गरेको छ ।
संक्रमण दर बढेर अस्पताल भर्ना हुने विरामीको चाप बढेको अवस्थामा बुटवल धागो कारखानालाई पुनः कोरोना विशेष अस्पतालका रुपमा सञ्चालनमा ल्याइने मन्त्री थारुले बताए । संक्रमण दर न्यून भएपछि यसअघि धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पताल बन्द गरिएको थियो ।
यस्तै प्रदेशका १२ वटै जिल्लामा कोरोनाको अवस्था अध्ययन र अनुगमन गर्न मन्त्रीहरुकै नेतृत्वमा टोली खटाउने सरकारको तयारी रहेको मन्त्री थारुले बताए ।







