सभ्य समाज निर्माणमा यूवाको भूमिका
महाभारतको एउटा प्रसंग छ जब महात्मा विदुर भीष्मसंग उनको सयलकक्षमा गफ गर्दै भन्दछन तातश्री जब हस्तिनापुरको पापको नदी बहन्छ तब म र तँपाई जरुर त्यो नदीको किनारामा उभिएर समिक्षा गर्दै हुन्छौ । कमसे कम हामीले अनिष्ठ हुनबाट रोक्ने कोसिस त गर्यौँ । कयौँले त चर्चा गर्नुपर्ने पनि आवश्यक ठानेन । ठिक यसैगरी यदि आजको बिग्रिंदो राजनैतिक घटनाप्रति हामी यूवा पुस्ताहरुको चासो र चिन्ताको बिषय बनेन भने के भविष्यले हामीमाथि प्रश्न नगर्ला त ? देशलाई यो अवस्थामा ल्याउने को हो ? देश र राजनितीलाई सहि दिशातर्फ लैजानुपर्ने दायित्व कस्को हो ? हामीले आगामी पूस्तालाई देश कस्तो हालतमा जिम्मा लाउने ?
समाज बद्लिँदो छ, हाम्रो चेतना पनि त्यहि अनुरुप बद्लिंदै छ । हातमा रड र डण्डा लिएर बन्द हड्ताल हाम्रो बध्यता हो भन्दै सवारीमा आगजानी गर्ने, एम्बुलेन्स तोडफोड गर्ने, मलामी गएका बसहरुलाई ढुँगा हान्ने अभद्रता सभ्य आचरण होईन भनेर बन्दकर्ताहरुको असभ्यता बिरुद्ध खुलेआम र सामाजिक संजालहरुमा अवांछित प्रतिक्रियाहरु व्यापकरुपमा जनाइरहेकै छन् । तर, यस्ता घटनामा सरीक हुने, समर्थन गर्ने या जेसुकै होस् भनेर बिमत्ती नजनाउनेहरुले आगामी पूस्तालाई यो देश कुन हालतमा हस्तानतरण गर्ने हुन् ?
आज किसान आन्दोलनको नाममा तराईका जिल्लाहरु सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा, मोरङ, सुनसरी, महोत्तरी, पर्सा, नवलपरासी, कपिलवस्तु, बाँके, बर्दियालगायत अशान्त भएका छन् । यस आन्दोलनको बाहिर देखिएको कारण भनेको गहुँको बिउ लुटेका ब्यक्तिहरुलाई प्रहरीले कानुनी दायरामा ल्यायो, उनीहरु किसान हुन् र उनीहरुमाथि कुनै मुद्दा नचलाईयोस् भन्ने हो । त्यहि व्यक्तिहरुलाई बिनामद्दा रिहा गरियोस् भनेर आन्दोलन गरेका भनिरहेका छन् । तर, आन्दोलनको प्रारुप यस्तो फरक र अराजक ढंगले विकास भएको देखिन्छ जस्ले गर्दा जो कोहिलाई पनि यो बुझ्न गाह्रो हुन्न कि एउटा आमुक दलले चुनावकै मुखमा शाक्ति आर्जन गर्ने मौकाको रुपमा यसलाई परिचालन गरिरहेको छ । तर, यति कुरा बुझ्न त्यो दलका नेताहरु असक्षम भैरहेको छ कि आजको समयमा राजनैतिक शक्ति उपार्जनको लागि जातीय मुक्तिको नाउँमा, समुदायीक उत्थानको नाममा अराजकता श्रृजना गरेर शक्ति संचय गर्ने कुरा कदापि दिगो हुँदैन ।
जात र समुदायलाई आधार मानेर राजनीति गर्ने केहि सीमित व्यक्तिहरुको कारण आज पनि देश अस्थिरता र द्वन्दतिर धकेलिन सक्ने डरलाग्दो संभावना छ । तर यस्को समाधान कस्ले गर्छ त ?
विगतको इतिहास हेर्दा हुन्छ, मधेशमा यस्ता आन्दोलन कति भए ? अन्तिममा आएर आफ्नो स्वार्थ सकिएपछि आन्दोलन पनि सकियो । जसको मुद्दा उठान गरियो उनीहरू जहाको त्यहीँ छन् । दलहरु पनि फुटेर साना साना आकारमा परिणत भैसकेका छन् ।
जात र समुदायलाई आधार मानेर राजनीति गर्ने केहि सीमित व्यक्तिहरुको कारण आज पनि देश अस्थिरता र द्वन्दतिर धकेलिन सक्ने डरलाग्दो संभावना छ । तर यस्को समाधान कस्ले गर्छ त ? अर्थपूर्ण प्रजातन्त्रको लागि युवाहरुको अर्थपूर्ण सहभागिता आवश्यक छ भन्ने कुराको बोध सबैलाई संधै रहिआएकै छ । समाज निर्माणमा योगदान पुर्याउन सक्ने रचनात्मकता, प्रगतिशील बिचारहरु यूवाहरुले हाम्रो समाजलाई पस्कन सक्छन् । प्रजातन्त्रमा उनीहरूको सहभागिताले सक्रिय नागरिकलाई प्रोत्साहित गर्दछ, सामाजिक उत्तरदायित्वलाई सुदृढ पार्छ र प्रजातान्त्रिक प्रक्रिया र संस्थाहरूलाई बढाउन सक्दछ । आजका युवा नागरिकहरू भोलिका नेताहरू र निर्णय–निर्माताहरू हुन्, तर, सीमित व्यक्तिहरुको स्वार्थको लागि राष्ट्रिय एकतालाई नै खण्डित पार्ने, अराजकतालाई प्रशय दिने, देशलाई अस्थिरतातिर धकल्ने क्रियाकलाप उदांगो रुपमा भैराख्दा पनि यूवाहरु नै नबोल्ने हो भने। प्रचुर विकासको सम्भावना बोकेको यो देश सँधै आन्तरिक कलहमै अल्झिरहने छ ।







