सोलिड्यारिटीले मनायो २९ औँ स्थापना दिवस
मकवानपुर । सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीले आफ्नो २९ औँ स्थापना दिवस मनाएको छ । आज हेटौंडा–१० स्थित विद्यालयको प्राङगानमा एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो ।
विद्यालयका संस्थापक अध्यक्ष ऋषिराम आचार्यको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर—१० का अध्यक्ष इन्द्र नेपालको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अथिति नेपालले विद्यालयले राम्रो शिक्षा दिन सकेको बताए । उनले जिल्लाको शैक्षिक केन्द्रको रुपमा रहेका विद्यालयले आगामी दिनमा व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिन आग्रहसमेत गरेका छन् ।
विद्यालयले ठूलाठूला विद्वानहरु उत्पादन गरेको भन्दै खुशी व्यक्त गरे । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याप्सन)का केन्द्रीय सदस्य मदन दाहालले शिक्षाका क्षेत्रमा निकै महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै विद्यालयले बालबालिकालाई गुणस्तरीय शिक्षासंगै ,सिर्जनशील, लगनशील, अनुशासित र स्वावलम्बनको पाटोमा समेत जोड दिएको बताए ।
प्याप्सनका जिल्ला अध्यक्ष विनोद सुवेदीले विद्यालयलाई नमुना बनाउनका लागि शिक्षकको भुमिका सबैभन्दा बढी महत्वपुर्ण हुने हुँदा शिक्षकहरुले त्यसमा जिम्मेवारीका साथ लाग्नुपर्ने बताए ।
विद्यालयको स्थापना कालमा ६० जना विद्यार्थी अध्ययनरत् रहेकोमा अहिले कक्षा १ देखि १० सम्ममा १७ सय विद्यार्थी अध्ययनरत् छन् । विद्यालयले २७० जना विद्यार्थीलाई छात्रबृद्धि प्रदान गरेको छ । विभिन्न जिल्लाका अभिभावक विहिन, निम्न आर्थिक अवस्था भएका १ सय १० जनालाई आवाशीय रुपमा निःशुल्क छात्रवृद्धि प्रदान गरेको विद्यालयका संस्थापक अध्यक्ष ऋषिराम आचार्याले जानकारी दिए । विद्यालयमा हाल ६२ जना शिक्षकले अध्ययापन गराईरहेका छन् ।








