मल किन्दा एक अर्ब भ्रष्टाचार, कृषि सामग्रीका प्रवन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा
काठमाडौं । मिलोमतोमा गुणस्तरहीन मल खरिद गरेको अभियोगमा कृषि सामाग्री कम्पनी लिमिटेडका बहालवाला प्रवन्ध सञ्चालकसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रवन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप-प्रबन्धक पुष्कर दिप बुढा तथा मल अनियमिततामा संलग्न ठेकदार कम्पनी जोशी बिजसमेत १२ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रतिवादी प्रत्येकलाई एक अर्ब ५३ लाख २२ हजार बिगो कायम गरिएको छ ।
सरकारले तोकेको गुणस्तरमा नरहेको डीएपी मल खरिद गरेर आर्थिक अनियमितता गरेको कसुरमा आइतबार विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।







