खोलामा हेलिएर विद्यालय जान बाध्य राक्सिराङको चेपाङ समुदायका बालबालिका
मकवानपुर । साना बालबालिकालाई दाइदिदीले पिठ्युँमा बोकेका छन् । केहीलाई हातमा समातेका छन् । जसोतसो खोला पारे गरे पनि उनीहरूको लुगा भिजिहाल्छ । भिजेका लुगा ढुंगामा सुकाएर विद्यालय पोसाक लगाई स्कुल जान्छन् । बेलुका फर्कंदा त्यही सुकाएको लुगा लगाएर घर आउँछन् । खोला तर्दा लुगा भिज्छ भनेर स्कुलको पोसाक झोलामा हाल्छन् । घरमा लगाउने कपडा लगाएर उनीहरूले खोला तर्दै आएका छन् ।
यो दैनिकी हो, मकवानपुरको विकट भूभागमा बस्ने चेपाङ समुदायका बालबालिकाको । सधैँजसो खाद्यान्नको समस्या भोग्ने यो समुदायका बालबालिकाले पढाइका लागि उस्तै संघर्ष गर्नुपर्छ । एक त शैक्षिक सामग्रीको नै अभाव हुन्छ । त्यसमाथि विद्यालय पुग्नै धौधौ । बाटोमा पर्ने खोला तर्नुपर्ने कारणले उनीहरूलाई पढाइलाई निरन्तरता दिन असहज भइरहेको छ । बर्खाका तीन/चार महिना त खोला तरेर स्कुल जानै सक्दैनन् । हिउँदमा पनि उस्तै सकस हुन्छ ।
मकवानपुरको राक्सिराङ गाउँपालिका –३ मुस्ले र घट्टेखोलाका विद्यार्थीहरूको विद्यालय जाने दैनिकी यस्तै हो । उनीहरू खोला तरेर राक्सिराङ –५ चैनपुरस्थित प्रजा जागृति आधारभूत विद्यालयमा पढ्न जाने गरेका छन् । राक्सिराङको गोराङदी, चैनपुर हुँदै आएको घट्टेखोलाले वर्षमा झन्डै नौ महिना स्कुल जान समस्या पार्छ । खोलाका कारण जेठदेखि भदौसम्म उनीहरू स्कुल जानै सक्दैनन् । फागुन, चैत र वैशाखमा मात्रै उनीहरू सहज ढंगले खोला तरेर स्कुल जान सक्छन् । ‘बर्खामा पानी धेरै भएर तर्न सकिँदैन । हिउँदको चिसोमा पनि उस्तै समस्या हुन्छ,’ घट्टेखोलाका किरण चेपाङले भने, ‘पुल नहुँदा घट्टेखोला र मुस्लेका विद्यार्थीले खोलामा हेलिएर स्कुल जानुपर्छ ।’ घट्टेखोला तरेर स्कुल आउजाउ गर्दा हरेक वर्ष २/३ जनाको बगेर मृत्यु हुने गरेको छ ।
घरबाट स्कुल पुग्न ४५ मिनेट हिँड्नुपर्छ । मुस्ले र घट्टेखोलाबाट मात्र ४० जना भन्दा बढी चेपाङ समुदायका विद्यार्थीहरू प्रजा जागृति विद्यालयमा पढ्छन् । ‘वर्षायाममा त मुस्ले र घट्टेखोलाका विद्यार्थी खोलाका कारणले पढ्न आउन सक्दैनन्,’ विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर चेपाङले भने, ‘अरू बेला पनि खोला बढेपछि आउन पाउँदैनन् ।’ त्यहाँका बासिन्दालाई पायक पर्ने गरी पुल बन्न सकेको छैन । उक्त दुई बस्तीमा चेपाङ समुदायको मात्र बसोबास छ । स्थानीयले यी दुई बस्तीलाई पायक पर्ने गरी पुल बनाइदिन गाउँपालिकासँग अनुरोध गर्दै आए पनि आश्वासन मात्र पाएका छन् । पालिका अध्यक्ष राजकुमार मल्लले झोलुंगे पुल हाल्न बजेटको व्यवस्था गर्न लागेको बताए ।
खोला तर्नुपर्ने समस्याकै कारण यी दुई बस्तीका विद्यार्थीले बीचैमा पढाइ छाड्ने गरेका छन् । ८ कक्षामा पढ्ने घट्टेखोलाकी सविना चेपाङले भनिन्, ‘खोलाको कारणले गर्दा सधैं स्कुल जान पाइँदैन, यहा पुल हालिदिए सजिलो हुन्थ्यो ।’ उनी २ कक्षामा पढ्ने गाउँकै एक बहिनीलाई सधैं हातमा समातेर खोला तार्छिन् । ‘स्कुल आउजाउ गर्नलाई जोखिम मोल्नुपरेका कारणले केहीले बीचैमा पढाइ छोड्ने गरेका छन्,’ प्रधानाध्यापक चेपाङले भने । ईकान्तिपुरबाट साभार







