मकवानपुरमा रुखको एक्सरे
मकवानपुर । मकवानपुरका विभिन्न सामुदायिक वनहरुमा सालका रुखहरुको धमाधम एक्सरे भइरहेको छ । केही समयअघि मात्रै नेपाल भित्रिएको एकमात्र टोमोग्राफ मेसिनबाट अहिले जिल्लाका विभिन्न वनमा रहेका पुराना सालका रुखहरुको एक्सरे भइरहेको हो ।
डिभिजन वन कार्यालय राप्तीका सहायक वन अधिकृत सुरेशप्रसाद गुप्ताका अनुसार रुखभित्रको धोदको मात्र पत्ता लगाउन जर्मनबाट भित्रिएको टोमोग्राफ मेसिनले रुखको एक्सरे गर्ने कार्य भइरहेकोे बताए । सव डिभिजन वन कार्यालय बसामाडीअन्तर्गत्का बसामाडी तथा नेवारपानी क्षेत्रमा रहेका आधादर्जन सामुदायिक वनमा रहेका पुराना खडा रुखहरुको धोदको मात्रा पत्ता लगाउन टोमोग्राफ मेसिनमार्फत् एक्सरे भइरहेको छ ।
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रकी उपसचिव सुनिता उलक र सहायक अनुसन्धान अधिकृत केशव घिमिरेको टोलीले पहिलो चरणमा ४० थान सालका रुखहरुको एक्सरे गर्दैछन् । ‘केही समयअघि मात्रै जर्मनबाट टोमोग्राफ मेसीन खरिद गरिएको हो’, केन्द्रकी उपसचिव उलकले भनिन्,‘विरामीको शरीरमा इसिजी गर्दा विभिन्न प्वाइन्टहरुमा सेन्सर राखिए झैं रुखका विभिन्न स्थानहरुमा प्वाइन्ट राखी यो मेसिनले भित्री अवस्था पत्ता लगाउ“छ ।’ उनका अनुसार टोमोग्राफले दिएको चित्रलाई सफ्टवेयरमा एनालाइसिस गरेपछि रुखभित्र बिग्रिएर धोद भएको मात्राको प्रतिशत, बिग्रँदै जाने क्रममा रहेको मात्र सबै देखाउँछ ।
जर्मनमा विकास भएको ३५ लाख रुपैयाँ पर्ने यो मेससन वन अनुसन्धान तथा तालिम केन्द्रले केही समयअघि मात्रै खरिद गरेको हो । टोमोग्राफको सहज उपलब्धता भए सहरी रुखहरुको शारीरिक अवस्था बिश्लेषण गरी जोखिम कम गर्न सकिने वन प्राविधिकहरुले बताएका छन् । ‘सामुदायिक वनहरुमा माउ रुखको छनौट गर्न र बस्तीसँग जोडिएका रुखका कारण हुने जोखिमको पूर्वानुमान गर्न यो मेसीन निकै प्रभावकारी हुनेछ’, डिभिजन वन कार्यालय राप्तीका सहायक वन अधिकृत शम्भु तामाङले भने ।
एकसाताको बीचमा ४० वटा रुखको एक्सरे गरेर वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको टोली फर्कनेछ । छपान भइसकेका ती रुखहरु काटेर पुनः धोदको मात्रा बिश्लेषण गरिने केन्द्रले जनाएको छ । परम्परागत रुपमा धोद पत्ता लगाउने विधि र टोमोग्राफको विधिमा कत्तिको समानता छ भनेर मकवानपुरमा परीक्षण गर्न लागिएको हो । जर्मन लगायत अन्य देशहरुमा प्रयोगमा आइसकेको यो मेसीनको विश्वनियता ९० प्रतिशतभन्दा बढी रहेको केन्द्रकी उपसचिव एबम् वन प्राविधिक उलकले जानकारी दिइन् ।







