मकवानपुरको भीमफेदीमा अनावरण नहुँदै चोरिएको सालिक फेला
मकवानपुर । अनावरण गर्न नपाउँदै चोरी भएको मकवानपुरको प्रथम लोकसर्जक गणेशलाल श्रेष्ठको अर्धकदको सालिक सोमबार अपरान्ह भीमफेदीमै भेटिएको छ । भीमफेदी गाउँपालिका—६ स्थित चिसापानी पुलमुनि सालिक फेला परेको ईलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरिक्षक सुरेन्द्र श्रेष्ठले बताए ।
आइतबार बिहानदेखि नै सालिक खोज्न झाडी, जंगललगायतको क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो । ‘आइतबार पुलमुनि सालिक थिएन, राति ल्याएर फालिदिएको हुनुपर्छ,’ एक स्थानीयले भने,‘हिजो हामीले पनि पुलमुनि खोजेका थियौं, फेला परेन, तर आज प्रहरीले फेला पार्यो ।’
स्थानीय समाजसेवी सुरेन्द्र ठिकेका अनुसार सालिक सग्लै छ । चिसापानी पुल भीमफेदी बजार नजिकै पर्छ । सालिक सम्बन्धित संस्थालाई प्रक्रिया पुर्याएर हस्तान्तरण गर्ने प्रहरीले जनाएको छ ।
आइतबार अनावरण गर्नका लागि मकवानपुरको पूर्व सदरमुकाम भीमफेदीस्थित ज्योति पुस्तकालयको परिसरमा शनिबार कपडाले छोपेर लोककवि श्रेष्ठ सालिक राखिएको थियो । राती नै सालिक चोरी गरिएको थियो । सालिक चोरी भएपछि अनावरण कार्यक्रम पनि रोकिएको थियो । फलामको डण्डी नै दोबारेर सालिक चोरिएको थियो ।
३० ईन्च उचाई भएको करिब ४० केजी तौलको अर्धकदको सालिक पित्तलले बनाइएको छ ।
सालिक अनावरण गर्न परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलगायत साहित्यकारका टोली आइतबार बिहान भीमफेदी पुगेका थिए । उनीहरुले सालिक खोजी गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका थिए ।
एक सय १० वर्षअघि भीमफेदीको पारी बजारमा लोककवि श्रेष्ठ जन्मेका थिए । उनको परिवार अहिले पनि भीमफेदीमै बस्छन् । जिल्ला प्रहरी कार्यालय हेटौंडाले घटना अनुसन्धान गर्नका लागि प्रहरी निरीक्षकसहितको टोली खटाएको थियो ।
करिब ५ लाख रुपैयाँको लागतमा सालिक निर्माण गरिएको थियो । सालिक ईलाका प्रहरी कार्यालय भीमफेदीबाट २ सय मिटर टाढा ज्योति पुस्तकालय परिसरबाटै चोरी भएको थियो । भीमफेदी निवासी श्रेष्ठलाई लोककवि पदवी लोकसाहित्य परिषद् र नेपाल प्रज्ञा प्रतिष्ठानले दिएको थियो ।
लोककवि श्रेष्ठ दुई थुंगाको फूल, मेरो पुष्पान्जली, नेवारी भाषामा गीत लेखेका थिए । १९६८ मा भीमफेदीस्थित पारी बजारमा जन्मेका श्रेष्ठको २०४२ सालमा निधन भएको थियो ।







