प्रधानमन्त्रीले हामीसँग छुट्टै वार्ता गर्नुपर्छ, भोज खान बोलाएजसरी जाँदैनौँ– नेम्वाङ

अखबार हब
२०७८ पुष ४, आईतवार १३:३८

काठमाडौं । नेकपा एमालेले संसदमा जारी अवरोध हटाउन प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलसँग छुट्टै वार्ता गर्नुपर्ने बताएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार अपरान्हका लागि बोलाएको सर्वदलीय बैठकमा एमालेले सहभागिता नजनाउने बताइसकेको छ ।

नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद गतिरोध खोल्न चाहेको भए प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलसँग छुट्टै वार्ता गर्नुपर्ने बताएका हुन् ।

‘संसदको गतिरोध हटाउन चाहेको हो भने प्रधानमन्त्रीले हामीहरूसँग छुट्टै वार्ता गर्नुपर्‍यो नि, भोजमा बोलाएजसरी बोलाएर हामी किन सहभागी हुने ?,’ गृहजिल्ला इलाममा रहेका नेम्वाङले भने ।

एमालेले यसअघि पनि प्रधानमन्त्री देउवा र सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको थियो । पार्टीले कारवाही सिफारिस गरेका माधव नेपाललगायत १४ सांसदलाई पदमुक्त गर्ने पत्र कार्यान्वयन नगरेको भन्दै एमालेले भदौ २३ देखि संसदको बैठक अवरोध गर्न शुरू गरेको थियो ।

संसदको नवौँ अधिवेशनका सबै बैठकमा नाराबाजी गरेको एमालेले मंसिर २८ गते शुरू हिउँदे अधिवेशनको पहिलो दिन पनि संसदमा नाराबाजी गरेको थियो । एमालेको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक पुस ६ गते सम्मका लागि स्थगित भएको छ ।

६ गतेको बैठक सुचारु गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् । सर्वदलीय बैठकमा अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी०को विषयमा समेत छलफल हुने स्रोतले बतायो ।

यसमा तपाइको मत

Your email address will not be published.


*