रोटरी क्लब अफ हेटौंडाद्वारा आँखा शिविरमा ८६९ को परीक्षण
मकवानपुर । रोटरी क्लब अफ हेटौंडाको वार्षिक कार्यक्रम अन्तरगत पहिलो चरणको कार्यक्रममा निःशुल्क आँखा शिविर शनिबार भएको छ ।
मकवानपुर र रौतहटका तीन स्थानमा भएको शिविरमा आठ सय ६९ जनाको परीक्षण भएको छ । परिक्षण मध्ये एकसय ५४ जना मोतिबुन्दुका बिरामीहरू भेटिएको र उनीहरुको शल्यक्रियाका लागि छनौट गरिएको शिविर संयोजक अर्जुन सुवेदीले बताएका छन् ।
आइतबार देखि मंगलबारसम्म उनीहरुको हेटौंडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिनेछ सुवेदीले बताए । विरामीलाई शिविरस्थल देखी अस्पताल सम्म ल्याउने, शल्यक्रिया गर्ने र घरसम्म पुर्याउने सबै व्यवस्थापन रोटरी क्लबले गर्ने अध्यक्ष रामप्रसाद शर्माले बताए । यसका लागि अष्ट्रेलियाका डेबिट एक्सले आर्थिक र तास्मानियाका रोटरी क्लबहरूले संयोजन गर्दै आएको जनाइएको छ ।
क्लबले रोट्याक्ट क्लब अफ हेटौंडा र हेटौंडा सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा पौष २ गते, रौतहटको बृन्दावनमा १ र ३ गते मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ मकरी हाँडिखोलामा निःशुल्क आँखा शिविर गरेको थियो । समय परिस्थिति अनुकुल रहे अबको २ महिना पछि ४ स्थानमा स्थलगत शिविर गर्ने योजना रहेको क्लबले जनाएको छ ।







