गठबन्धन दललाई भाग पुर्याउनकै लागि लुम्बिनीमा जम्बो मन्त्रिपरिषद्
काठमाडौँ । गठबन्धन दलहरूबीच भागबन्डा मिलाउनकै लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सात प्रदेशमध्ये सबैभन्दा जम्बो मन्त्रिपरिषद् बनाएका छन् । लुम्बिनीमा मात्रै १३ मन्त्री र ४ राज्यमन्त्री बनाइएको छ । २०७८ वैशाखमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले ७ बाट मन्त्रालय संख्या ९ पुर्याए ।
साउन २८ मा पोखरेल हटेर केसी मुख्यमन्त्री भएपछि माओवादी, कांग्रेस र एकीकृत समाजवादीसहितको संयुक्त सरकार बन्यो । त्यसपछि उनले जम्बो मन्त्रिपरिषद्मार्फत सरकारमा गठबन्धनका नेताको व्यवस्थापन गरेका हुन् ।
लुम्बिनीका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रदेशका कुनै पनि एउटा मन्त्रालय टुक्रिएर अर्को मन्त्रालय नबनेको जिकिर गरे । ‘सबै मन्त्रालयबाट केही कार्यक्रम निकालेर अर्कोमा जोडिएको छ,’ उनले भने ।







