विद्यालयमै पुगेर बालबालिकालाई कोभिड विरुद्धको मोडेर्ना खोप लगाउँने तयारीमा हेटौँडा उपमहानगर
मकवानपुर। हेटौंडाका विद्यालयमै पुरेर १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड विरुद्धको खोप (मोडेर्ना खोप) दिइने तयारी गरिएको छ ।
यहाँका सामुदायिक तथा निजी विद्यालयमा गएर खोप दिन लागिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले जानकारी दिए । हरेक विद्यालयमा गएर खोप दिनका लागि स्वास्थ्यसाखाबाट सबै खालका तयारी समेत गरिएको उनले बताए । कोरोनाको नयाँ भेरिएन्टबाट बच्नका लागि पनि अपनाउनुपर्ने साबधानीका बिषयमा प्रचार प्रसार गरिएको र किशोरकिशोरीहरुलाई पनि खोप दिन लागिएको मेयर महतले बताए ।
अमेरिकी कम्पनी मोडेर्नाको थप १४ लाख ९७ हजार मात्रा खोप नेपाल ल्याइएको छ। विद्यालयहरूमा रहेको विद्यार्थी सङ्ख्याका आधारमा खोप पठाइँदै छ। यस पटक अस्पतालबाहेक विद्यालय नै खोप केन्द्र रहनेछ। त्यही अनुसार खोप आउँदो पुस ४ गते विद्यालयहरुमा गएर लगाइने हेटौंडा उपमहानगरपालिका स्वास्थ्य साखाका प्रमुख भोला चौलागाईले जानकारी दिए ।
खोप लगाएका बालबालिकालाई सामान्य किसिमका प्रभावहरू देखिन सक्ने सङ्क्रामक रोग विज्ञहरू बताउँछन्। खोप लगाएका बालबालिकामा खोप लगाएको ठाउँमा दुख्ने, फोका जस्तो देखिने, ज्वरो आउनेजस्ता सामान्य समस्या देखिन सक्छन्। तर यी सामान्य समस्या हो। आत्तिनु पर्दैन। प्रयोग गरिएको फाइजर र प्रयोगको तयारी भएको मोडेर्ना खोप लगाएपछि गम्भीर प्रभावहरू देखिएका छैनन् । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका विद्यालय जाने भएकाले भिडभाडमा मिसिन्छन्। भिडमा रहनेहरूले खोप लगाउनु नै सुरक्षित रहने विकल्प भएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।







