कांग्रेसको १३ वटा महाधिवेशनलाई फर्केर हेर्दा : को कहिले बने सभापति ?

अखबार हब
२०७८ मंसिर २४, शुक्रबार ०९:५८

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ। आजदेखि २७ मंसिरसम्म चल्ने महाधिवेशनले कांग्रेसको आगामी नीति र नयाँ नेतृत्व चयन गर्ने छ।

महाधिवेशनको संघारमा रहेको सबैभन्दा पुरानो प्रजातान्त्रिक दल कांग्रेसमा यतिबेला पार्टीको आगामी नीति भन्दा पनि पार्टीको नेतृत्वमा पुग्नको लागि हानाथाप चलिरहेको छ। वर्तमान सभापति शेरबहादुर देउवासहित धेरै नेता सभापतिको आकांक्षी देखिएका छन्।

१३ औँ महाधिवेशनमा देउवासँगै पराजित भएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभापतिका आकांक्षी हुन्। तर, उनले आफ्नै समूहका साथीहरुको साथ नपाउँदा यसपटक पनि कांग्रेसको नेतृत्व गर्ने सपना साकार हुने सम्भावना निकै कम छ।

कांग्रेस महाधिवेशनको इतिहास
२७ चैत २००६ मा नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक काङ्ग्रेसको एकिकरणबाट नेपाली कांग्रेसको जन्म भएको हो। बहालवाला सभापति शेरबहादुर देउवासहित अहिलेसम्म ८ जनाले कांग्रेसको सभापति बनेर पार्टीको नेतृत्व गरेका छन्। उनीहरु सबै महाधिवेशनबाटै नेतृत्वमा पुगेका हुन्।

कांग्रेस महाधिवेशनबाट सबैभन्दा धेरै (चारपटक) बिपी कोइराला नेतृत्वमा पुगेका छन्। बिपीपछि सबैभन्दा धेरैपटक कांग्रेसको सभापति बन्ने नेता हुन् गिरीजाप्रसाद कोइराला। उनले तीन कार्यकाल सभापति बनेर कांग्रेसको नेतृत्व गरेका छन्।

सबैभन्दा पहिला महाधिवेनबाट कांग्रेसको सभापति बन्ने नेता हुन् टंकप्रसाद आचार्य। २००३ सालमा भारतको कलकतामा भएको कांग्रेसको पहिलो महाधिवेशनबाट आचार्य सभापति बनेका थिए।

त्यसपछि २००४ सालमा भारतकै बनारसमा भएको दोस्रो महाधिवेशनबाट बिपी कोइराला कांग्रेसको सभापति बने। २००५ साल फागुनमा भारतकै दरभंगामा भएको कांग्रेसको तेस्रो महाधिवेशनले कांग्रेसको नेतृत्व मातृकाप्रसाद कोइरालालाई सुम्पियो।

२००६ साल चैतमा भारतकै कलकतामा भएको कांग्रेसको चौथो महाधिवेशनबाट पुनः मातृका नै कांग्रेसको सभापति बने। उनले चार वर्षसम्म कांग्रेसको नेतृत्व गरे।

२००९ साल जेठमा जनकपुरमा भएको कांग्रेसको पाँचौँ महाधिवेशनबाट पुनः कांग्रेसका संस्थापक बिपी कोइराला पार्टीको सभापति चुनिए। त्यतिबेला उनले दुई वर्षसम्म कांग्रेसको नेतृत्व गरे।

२०१२ सालमा वीरगञ्जमा भएको कांग्रेसको छैटौँ महाधिवेशनबाट सुवर्णशमशेर जबरा कांग्रेसको सभापति बन्न सफल भए। उनले पनि दुई वर्ष कांग्रेसको नेतृत्व गरे।

२०१४ सालमा विराटनगरमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट पुनः बिपी कोइराला तेस्रो कार्यकालको लागि कांग्रेसको सभापति चयन भए। उनले तीन वर्षसम्म कांग्रेसको नेतृत्व गरे।

२०१७ साल वैशाखमा काठमाडौंमा भएको कांग्र्रेसको ७ औँ महाधिवेशनबाट पुनः बिपी कोइराला नै कांग्रेसको सभापति बने।

बिपी कोइराला सभापति रहेकै बेला २०१७ सालमा मुलुकमा पञ्चायती व्यवस्थाको सुरुवात भयो। त्यसपछिका ३० वर्षसम्म कांग्रेसले महाधिवेशन गर्न सकेन। नेतृत्वमा बिपी कोइराला नै रहिरहे।

२०४६ सालमा मुलुकमा पुनः प्रजातन्त्रको स्थापना भएपछि मात्रै कांग्रेसले महाधिवेशन गर्यो। २०४८ सालमा झापामा भएको कांग्रेसको ८ औँ महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई कांग्रेस सभापति चुनिए। उनले पाँच वर्षसम्म कांग्रेसको नेतृत्व गरे।

२०५३ सालमा काठमाडौंमा भएको ९ औँ महाधिवेशनबाट गिरीजाप्रसाद कोइराला कांग्रेसको नेतृत्वमा पुगे। उनले पाँच वर्षसम्म कांग्रेसको नेतृत्व गरे। २०५७ साल माघमा पोखरामा भएको कांग्रेसको १० औँ महाधिवेशनबाट पुनः गिरीजा नै कांग्रेसको सभापति बन्न सफल भए।

२०६२ साल भदौमा ललितपुरमा भएको कांग्रेसको ११ औँ महाधिवेशनले पुनः तेस्रो कार्यकालको लागि गिरीजाप्रसाद कोइरालालाई नै कांग्रेस सभापतिको बागडोर सुम्पियो।

गिरीजाप्रसादको निधनपछि २०६७ असोजमा काठमाडौंमा भएको १२ औँ महाधिवेशनबाट सुशिल कोइराला कांग्रेसको सभापतिमा विजयी भए। त्यतिबेला देउवालाई पराजित गरेर कोइराला कांग्रेसको सभापति बनेका थिए।

सुशिलको निधनपछि २०७२ फागुनमा काठमाडौंमा भएको १३ औँ महाधिवेशनबाट शेरबहादुर देउवा कांग्रेसको सभापति बनेका हुन्। १३ औँ महाधिवेशनमा रामचन्द्र पौडेललाई पराजित गरेका देउवा पुनः दोस्रो कार्यकालको लागि सभापति बन्ने दौडमा छन्। सम्भवतः यसपटक पनि देउवा नै कांग्रेस सभापतिमा विजयी हुनेछन्।

यसमा तपाइको मत

Your email address will not be published.


*