गठबन्धन सरकारले राज्यको सबै निकायलाई ध्वस्त बनायोः सचिव भट्टराई
मकवानपुर । नेकपा एमालेको सचिव योगेश भट्टराईले गठबन्धनको सरकारले राज्यको सबै निकायलाई ध्वस्त बनाएको बताएका छन् । कार्यपालिका भागबन्डमा गएको भन्दै अहिलेको सरकारले संसदलाई बन्दक बनाउनुका साथै न्यायपालिकालाई नाङ्गेझार बनाएको बताए । न्यायपालिकाको इज्जत र प्रतिष्ठालाई अहिलेको सरकारले गिराउने काम गरेकोमा सचिव भट्टराईले चिन्ता व्यक्त गरे ।
बिहीबार हेटौंडामा प्रेस चौतारी मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले छिटोभन्दा छिटो नयाँ जनादेशमा जान चाहेको बताए । एमालेले जनादेश प्राप्त गरेर लोकतान्त्रीक स्थायीत्व निर्माण गर्ने उनले बताए ।
इतिहास बोकेको कांग्रेस पार्टी भएपनि कांग्रेसको भविष्य नभएको भट्टराईले बताए । एमालेको इतिहास पनि छ र लामो भविष्य भएको बताउँदै आउँदो चुनावमा एमाले र कांग्रेसबिच प्रतिस्पर्धा हुने बताए । महाधिवेशन सम्पन्न गरिसकेकोले अब चुनाव केन्द्रित हुने बताउँदै ३ महिनासम्म देशभर पार्टी प्रवेशको लहर छाउने भट्टराईले बताए ।
एमाले एक्लै चुनाव लड्ने बताउँदै निर्वाचनमा कांग्रेस पनि एक्लै चुनाव लड्ने भनिसकेको उनको भनाई छ । अहिलेको सरकारको गठबन्धन आउँदो राष्ट्रिय सभाको चुनावसम्म मात्र टिक्ने उनले दाबी गरे ।
अहिलेको गठबन्धन कुनै सैद्धान्तिक र वैचारिक आधारमा नभएको भन्दै एमालेको रिस र आवेगमा बनेको टिप्पणी गरे । उनले समाजवादी र माओवादीलाई कांग्रेससँग गठबन्धन आवश्यक भएको बताउँदै जुन पार्टीसँग विचार मिल्छ उनीहरू उतै मिल्ने बताए । समाजवादीका नेताहरू यता आए एमालेले सम्मानजनक व्यवहार गर्ने पनि सचिव भट्टराईले बताए ।







