ओली, प्रचण्ड र नेपालले एउटै मञ्चबाट भाषण गर्ने

अखबार हब
२०७८ मंसिर २३, बिहीबार १३:५१

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन उद्घाटनका दिन एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भाषण गर्ने भएका छन् ।

कांग्रेसले आफ्नो महाधिवेशनमा यी तीन दलका साथै अन्य दलका नेताहरूलाई पनि आमन्त्रण गरेको छ ।

गत फागुन २३ गतेसम्म एउटै दल नेकपामा रहेका यी तीन नेताबीच कटुतापूर्ण सम्बन्ध छ । प्रचण्ड र नेपालले नेकपा विभाजनको आरोप ओलीमाथि थोपर्ने गरेका छन् भने ओलीले प्रचण्ड र नेपाललाई विभिन्न लान्छना लगाउँदै आएका छन् ।

कटुतापूर्ण सम्बन्ध भएका यी नेताहरू सबैलाई एउटै मञ्चबाट भाषण गर्ने संयोग जुरेको छ । गत सालको पुस ५ गते प्रतिनिधि सभाको पहिलो विघटन शुरू भएपछि ओली र प्रचण्डबीच कटुता बढेको थियो ।

एमाले विभाजन गरेर छुट्टै दल बनाएका नेपाल पनि ओलीसँग दुश्मनीपूर्ण सम्बन्धमा देखिन्छन् ।

ओलीले चितवनमा हालसालै सम्पन्न आफ्नो पार्टीको दशौँ महाधिवेशनमा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई निमन्त्रणा नै गरेका थिएनन् भने निम्तो पाएका प्रचण्ड महाधिवेशनस्थलमा पुगेका थिएनन् ।

यी तीनै कम्युनिस्ट नेताहरूलाई एउटै मञ्चबाट भाषण गर्ने भने कांग्रेसले मिलाइदिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*