कांग्रेस बागमती मत परिणाम अपडेटः ६०३ मत गन्दा उप–सभापतिमा बुर्लाकोटी र महामन्त्रीतर्फ बादेको अग्रता
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको शनिबार हेटौंडामा भएको निर्वाचनको मतगणना सोमबार साँझसम्म जारी छ । प्रदेश सभापतिबाहेक उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत पदाधिकारीकोमात्रै मतगणना भइरहेको प्रदेश निर्वाचन समिति सदस्य होमराज नेपालले बताए ।
हालसम्म ६ सय ३ मत गनिसकेको उनले बताए । शनिबार हेटौंडाको फरेष्टी क्याम्पसमा भएको निर्वाचनमा २ हजार ८३ मत खसेको थियो । प्रदेश सभापतिको भने शनिबार राति मतपरिणाम सार्वजनिक गरिएको थियो । ५० प्रतिशत बढी मत ल्याउन नसक्दा आइतबार प्रदेश सभापतिको लागि शेरबहादुर देउवापक्षका इन्द्र बानियाँ र पौडेलपक्षका जगदिश्वर नरसिंह केसीबिच पुनः मतदान गरिएको थियो । शनिबार भएको निर्वाचनमा तेस्रो भएका भीमसेनदास प्रधानले आइतबारको निर्वाचनमा बानियाँलाई समर्थन गरेका थिए । कांग्रेस बागमती प्रदेश सभापतिमा देउवापक्षका इन्द्र बानियाँ विजयी भएका छन् ।
सभापतिको टुंगो लागेसँगै शनिबार भएको अन्य पदाधिकारी र सदस्यहरुको मतगणना सोमबार दिउँसोबाट सुरु भएको हो । कांग्रेस बागमती प्रदेशको मतगणना गर्न २ दिन लाग्ने भएसँगै मतगणना स्थल सारिएको छ । हेटौंडा–१० स्थित फरेष्ट्रि क्याम्पसमा प्रदेश सभापतिको मतगणना भए पनि अन्य पदाधिकारी र सदस्यको मतगणना भने हेटौंडा–४ स्थित एक पार्टी प्यालेशमा भइरहेको छ ।
कांग्रेस बागमती प्रदेश उपसभापतिको दौडमा देउवापक्षका चन्द्र महर्जनले २८२, धर्मराज गौतमले २६३ मत पाएका छन् । यस्तै पौडेलपक्षका मोहन बस्नेतले ३२८ र राजेन्द्रप्रसाद बुर्लाकोटीले २९१ मत पाएका छन् । महामन्त्रीमा पौडेलपक्षका कन्चनचन्द्र बादे ३१६ र माइकल रामचन्द्र अर्याल २८३, देउवापक्षका तिलकप्रसाद रुवालीले २३३, राजु श्रेष्ठले २४२, सिटौलापक्षक सुरेश श्रेष्ठले ५० र गौरीप्रसाद दवाडीले ३३ मत पाएका छन् ।
यस्तै महिलातर्फको सहमहामन्त्रीमा पौडलपक्षका जीवन डंगोलले २४५, देउवापक्षका निर्मला बस्ताकोटी १८० र सिटौलापक्षका मोतिमाया तामाङले ४९ मत प्राप्त गरेकी छन् । खुला तर्फबाट सहमहामन्त्रीमा ऋषिराम घिमिरे २४२, जगन्नाथ धिमाल ३४, जयनारायण सापकोटा २३, महेन्द्र थिङ १८९, राजकुमार तामाङ ६१, हरिशरण श्रेष्ठले १९४, वीरबहादुर तामाङले २०५ मत पाएका छन् ।







