प्रधानमन्त्री भएपछि देउवा पहिलो पटक पार्टी कार्यालयमा

अखबार हब
२०७८ मंसिर २०, सोमबार १७:०७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक पार्टी कार्यालय सानेपा पुगेका छन् । असार २९ गते प्रधानमन्त्री नियुक्त बनेका देउवा कांग्रेस महाधिवेशनको तयारीका बारेमा छलफल गर्न सोमबार पार्टी कार्यालय पुगेका हुन् ।

पार्टी कार्यालयका सचिव प्रकाश शर्माले महाधिवेशन सम्पन्न गर्न गठन भएका विभिन्न समितिका संयोजकहरुसँग प्रधानमन्त्रीले छलफल गरिरहेको जानकारी दिए । कांग्रेसले महाधिवेशनको तयारीका लागि एक दर्जन समिति गठन गरेको थियो ।

सचिव शर्माले भने, ‘संयोजकहरुले आफ्नो समितिले गरिरहेको कामबारेमा सभापतिज्यूलाई जानकारी गराउनुहुनेछ ।’

कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४–२७ सम्म काठमाडौंमा हुँदैछ । त्यसअघि वडा, पालिका, प्रदेश सभा, प्रतिनिधिसभा, जिल्ला हुँदै प्रदेश अधिवेशन सम्पन्न भइसकेको छ । जिल्लाहरुमा प्रतिनिधि छनोटमै विवाद भएपछि प्रदेश २ को प्रदेश समितिको अधिवेशन भने महाधिवेशन पछि हुने भएको छ ।

सानेपामा क्रियाशील सदस्यताको विषयलाई लिएर विभिन्न जिल्लाका नेता कार्यकर्ता महिनौं लामो अनसनमा बसेपछि सभापति देउवा पार्टी कार्यालय गएका थिएनन् । पार्टीका बैठकहरु देउवा निवास बुढानिलकण्ठमा हुँदै आएका छन् ।

अधिवेशन प्रक्रिया अघि बढेसँगै सानेपामा जारी अनसन पनि स्थगन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*